त्रिवि सेवा आयोग अध्यक्षको नियुक्ति खुला प्रतिस्पर्धाबाट

काठमाडौ। त्रिभुवन विश्वविद्यालय पदाधिकारी नियुक्तिमा दलगत भागबन्डा रोक्न त्रिवि इतिहासमै पहिलोपटक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयको सहकुलपति देवेन्द्र पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिको बैठक बसी कार्यविधि बनाएर त्रिविको ६३ वर्षको इतिहासमा पहिलोपटक सेवा आयोगको अध्यक्षका लागि खुला आवेदन माग गर्ने कार्यविधि स्वीकृत गरिएको छ। यही आधारमा आवेदन माग गरिएको हो।

शिक्षामन्त्रीका निजी सचिव कुलप्रसाद खनालका अनुसार हालसम्म ३८ प्राध्यापकले स्पष्ट कार्ययोजनासहित आवेदन बुझाएका छन्। दुई साताअघि मात्र आयोगको अध्यक्ष पदको तीनबर्से कार्यअवधि सकिएको हो।

त्यसलगत्तै छनोट समितिले सार्वजनिक सूचना प्रकाशन गरी मापदण्डसहितका आधारमा आवेदन माग गरेको निजी सचिव खनालले जनाए। उनले समितिले एक साताभित्र योग्य उम्मेदवारको सूची कुलपतिलाई बुझाउने पनि जनाए।

त्रिवि ऐनअनुसार आयोगको अध्यक्ष नियुक्ति गर्न शिक्षामन्त्री एवं सहकुलपतिको अध्यक्षतामा तीन सदस्यीय छनोट समिति विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्रीले गठन गरेका हुन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *