भारतमाथि अष्ट्रेलियाको शानदार जीत

एजेन्सी । भारतको भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो टी-२० आईमा शानदार जीत निकालेको छ । मंगलबार बेलुकी भएको खेलमा घरेलु टोली भारतलाई ४ विकेटले पराजीत गर्दै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको हो ।

जीतको लागि २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.२ ओभरमै ६ विकेटको क्षतिमा २ सय ११ रन बनाउँदै लक्ष्य भेट्टायो । अष्ट्रेलियालाई जीत दिलाउन क्यामेरोन ग्रीन र म्याथेउ वेडले विस्फोटक ब्याटिङ गरे । ग्रीनले ३० बलमा ८ चौका र ४ छक्काको सहयोगमा ६१ रन बनाउँदा वेडले ४५ रन बनाए । उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै स्टिभ स्मिथले ३५, एरोन फिन्चले २२, टिम डेभिडले १८ र जोस इंग्लिसले १७ रनको योगदान गरे ।

भारतको लागि अक्सर पटेलले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिँदा उमेश यादवले दुई र युज्वेन्द्र चाहालले एक विकेट लिए ।

यसअघि पन्जाब क्रिकेट एसोसियनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । भारतको लागि हार्दिक पान्डयले सर्वाधिक ७१ रन बनाए । उनले ३० बलमा ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै केएल राहुलले ५५ रन बनाउँदा सूर्यकुमार यादवले ४६ र रोहित शर्माले ११ रनको योगदान गरे ।

अष्ट्रेलियाको लागि नाथन इलिसले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिँदा जोस हज्लेवुडले दुई र क्यामरोन ग्रीनले एक विकेट लिए ।

अब दुई टोलीबीचको दोस्रो टी-२० आई शुक्रबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *