काठमाडौं । आसन्न आम निर्वाचनका लागि सिट बाँडफाँट छिटो टुंगो लगाउन माओवादी र एकीकृत समाजवादीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिन थालेका छन् ।
कांग्रेसको आन्तरिक विवादका कारण सिट बाँडफाँटमा ढिलाइ भएको भन्दै उनीहरूले दबाब दिन थालेका हुन् । सिट बाँडफाँटबारे असोज दोस्रो साताभित्रै टुंगो लगाउन ताकेता गर्दै माओवादी र एकीकृत समाजवादीले दबाब दिन थालेका हुन् ।
कांग्रेसले भने आन्तरिक विवाद देखाएर सिट बाँडफाँटमा विलम्ब गरेको जस्तो देखिन्छ । अन्तिमसम्म वार्ता लम्ब्याउने र आफू अनूकुल हुने गरी सिट बाँडफाँट गर्ने कांग्रेस नेताहरूको रणनीति रहेको अन्य दलको आशंका छ ।
कांग्रेसलाई अन्तिमसम्म पर्खंदा गठबन्धनका अन्य दललाई समस्या हुने माओवादी र एकीकृत समाजवादीको बुझाइ छ । प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताका लागि असोज २३ लाई तोकिएको छ ।
गठबन्धन दलले सिट बाँडफाँटको गृहकार्य भने डेढ महिनाअघि नै थालेका हुन् । निष्कर्षमा नपुग्दै समानुपातिक उम्मेदवारको सूची दर्ता गर्ने समय आएपछि त्यतातर्फ लाग्न भन्दै गठबन्धन दलले सिट बाँडफाँटको गृहकार्य तीन दिन रोकेका थिए । त्यही विषयमा मंगलबार बैठक पुनः सुरु भए पनि प्रगति छैन ।