काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फ सोमबार रातभर गरेको उम्मेदवारको बन्दसूची दर्तामा प्रमुख दलका पहुँचवालाहरु प्राथमिकतामा परेका छन् । असोज २ गतेदेखि दर्ताको काम सुरु भएपनि पहिलो दिन थोरै दलले मात्र दर्ता गरेका थिए । दोश्रो दिन अधिकांश दलहरु बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । जसमध्ये एमालेको तुलनामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाले पहुँचवालालाई प्राथमिकता दिएका छन् ।
कांग्रेसले वर्तमानदेखि पूर्वपदाधिकारीसम्म समेटेर समानुपातिक सूची बुझाएको छ । सूचीमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा, सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुर तथा पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ कांग्रेसको समानुपातिक सूचीमा छन् ।
त्यस्तै, केन्द्रीय सदस्यहरू डा प्रकाशशरण महत र अम्बिका बस्नेत, आनन्द ढुंगाना, अर्जुननरसिंह केसीसहितका नेतालाई राखेर कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सूची तयार पारेको छ ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार प्रतिनिधिसभामा एक सय १० र सातै प्रदेशका लागि दुई सय २० जनाको नाम बन्दसूचीमा बुझाइएको छ ।
त्यस्तै एमालेले पदाधिकारी तहका शीर्ष नेता सबै बाहिर राखेर समानुपातिकतर्फको बन्दसूची विभिन्न पार्टी छाडेर प्रवेश गरेकालाई एमालेले प्राथमिकता दिएको छ । एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलपत्नी नैनकला थापा, रघुजी पन्त र गोरखबहादुर बोगटी, ईश्वरी रिजाल विक र लीलबहादुर थापा, उमा कोइराला, सुनिता बराल, क्रान्ति बुर्लाकोटी, भक्तकुमारी लामा, मेनका पछाईलाई उम्मेदवार बनाएको छ ।
एमालेले पार्टी प्रवेश अभियानका क्रममा एमालेमा प्रवेश गरेका जसपा, लोसपा, माओवादी केन्द्रसहित विभिन्न पार्टीबाट प्रवेश गरेका ७७ जिल्लाका कम्तीमा एकजना नवप्रवेशीलाई बन्दसूचीमा समेटिएको स्रोतले जनाएको छ ।
माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महरासहित समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । माओवादीले सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधिसभाका लागि सिफारिस भएका पाँच सय ६७ नामबाट एक सय पाँचजनाको नाम टुंग्याएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार समानुपातिकको पाँच सिट डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पाएको छ । नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित पाँचजना समानुपातिकको बन्दसूचीमा परेका छन् ।माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, रेणु चन्द, रणेन्द्र बराइली, हकिकुल्ला खाँ, सुनील मानन्धर, पर्शुराम तामाङ, ईश्वरचन्द्र ज्ञवाली र सुबोध श्रीपाइलीलगायतका व्यक्तिलाई सूचीमा समेटेको छ ।
सत्तारूढ दल एकीकृत समाजवादीले तीनजना पदाधिकारीसहित समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभातर्फ उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव डा। गंगालाल तुलाधर र सचिव नागेन्द्र चौधरी समानुपातिकको बन्दसूचीमा परेका छन् ।
स्थायी कमिटी सदस्यहरू सावित्रा भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली र लेखा आयोग अध्यक्ष भरत श्रेष्ठको नाम पनि प्रतिनिधिसभातर्फ समानुपातिकको बन्दसूचीमा समावेश गरिएको छ। हमाल खसआर्यबाट, तुलाधर आदिवासी जनजातिबाट, चौधरी थारूबाट, भुसाल खसआर्य महिलाबाट, पराजुली खसआर्यबाट, यादव र साह मधेसी तथा श्रेष्ठ आदिवासी जनजातिबाट बन्दसूचीमा परेका छन् । पोलिटब्युरो सदस्य दिलु पन्तको नाम पनि बन्दसूचीमा छ ।
समाजवादीले प्रतिनिधिसभामा एक सय १० र प्रदेश सभामा दुई सय २० जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ ।
जसपामा पनि पहुँचवाला समानुपातिकमा परेका छन् । जसपाले संघीय परिषद् अध्यक्ष अशोक राईकी श्रीमती सुशीला श्रेष्ठलाई पनि प्रतिनिधिसभातर्फको समानुपातिक उम्मेदवार बनाएको छ । श्रेष्ठको नाम जनजाति क्लस्टरको १ नम्बर सूचीमा रहेको छ।
त्यस्तै, जसपाका कार्यकारिणी सदस्य रहेका सुमन स्वयं पनि मधेस प्रदेशतर्फ समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् । जसपाले प्रतिनिधिसभामा एक सय १० र विभिन्न प्रदेश सभामा दुई सय २० गरेर जम्मा तीन सय ३० जनाकै नाम आयोगमा बुझाएको छ ।
जसपाको सूचीमा कार्यालय सचिव प्रकाश अधिकारी छन् । उनी खसआर्य क्लस्टरमा परेका छन् । त्यस्तै, कार्यकारिणी सदस्यहरू शिवलाल थापासहित रेखा थापा यादव मधेस क्लस्टरबाट समानुपातिक उम्मेदवार बनेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक उम्मेदवारको बन्दसूचीमा पार्टीका वरिष्ठ नेताहरूलाई प्राथमिकतामा राखेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार पार्टीमा योगदान पुर्याएका वरिष्ठ नेताहरूलाई समेटेर सूची बुझाइएको छ ।
सूचीमा प्रतिनिधिसभातर्फको समानुपातिक उम्मेदवारमा वरिष्ठ नेताहरू पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको नाम छ । त्यस्तै, उपाध्यक्षद्वय बुद्धिमान तामाङ र हेमजंग गुरुङ समानुपातिकतर्फ सूचीमा परेका हुन् ।
राप्रपाले यसपटक यौनिक अल्पसंख्यक क्षेत्रबाट तेस्रोलिंगी समुदायकी भूमिका श्रेष्ठलाई पनि समानुपातिक उम्मेदवार बनाएको छ ।