एक तलाबाट हम्फालेर छोरीले झम्टिएपछि भागेका थिए मोहम्मदलाई गोली हान्ने आक्रमणकारी

काठमाडौं । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा सोमबार साँझ गोली लागी घाईते भएका लाल मोहम्मदको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुने लाल मोहम्मद सर्लाहीको गोडैता नगरपालिका-८ का स्थायी बासिन्दा रहेको खुल्न आएको छ।

गोली लागेपछि घाइते भएका मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोहम्मदको टाउको र तिघ्रामा गोली लागेको थियो। लाल मोहम्मदलाई शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। शिक्षण अस्पतालमा उपचारका क्रममा ५५ बर्षीय लाल मोहम्मदको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि गोली प्रहार गरेका थिए । उनको टाउकोको दायाँतर्फ २, दायाँ छातीमा १ र कम्मरमा एउटा गोली लागेको प्रहरीको भनाइ छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद गार्मेन्ट व्यवसायी थिए।

कागेश्वरी मनोहरा नगरपालिका-८ मा उनलाई गोली हानेर आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ। मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।

उक्त भिडिओमा मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै उनीमाथि गोली हानिएको देखिन्छ। उनी आफू उत्रिएको कारकै वरिपरि घुम्दै बच्न खोज्दै भागेको देखिन्छ। तर बन्दुकधारी उनको पछिपछि लागेर खेद्दै उनलाई तीन(चार पटक गोली हानेको देखिन्छ।

गोली हानेको देखेपछि सँगै रहेको घरमा रहेकी मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेर आक्रमणकारीलाई झम्टिएको देखिन्छ। यसपछि बन्दुकधारीहरू भागेका थिए। गोली हान्ने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *