टुकुचा खोलामाथि बनेका घर भत्काउन नरोकिने

काठमाडौं । टुकुचा खोलामाथि बनेका केही घर तत्काल नभत्काउन भनी उच्च अदालत पाटनले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि टुकुचामाथिका अनधिकृत अन्य संरचना भत्काउने कदम नरोकिने महानगरले जनाएको छ ।

महानगरले नदीमाथि बनेका घरटहरा भत्काउन बिहीबारदेखि डोजर चलाएपछि टुकुचासँग जोडिएका घरधनीले शुक्रबार नै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले तत्काल ती संरचना नहटाउन आदेश जारी गरेको हो ।

जयनेपाल हलस्थित पे्रसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोलाविक्रम थापा, उत्तरमान लामासमेतले शुक्रबार रिट दायर गरेका थिए । अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार ०३८ मा महानगरबाट इजाजतपत्र लिएर घर निर्माण गरेको, नक्सापास र निर्माण सम्पन्न पत्र पनि महानरले लिइसकेको अवस्थामा संरचना भत्काउन लागेको भन्दै रिट दायर भएको थियो ।

उच्च अदालत पाटनले बिहीबार दोहोरो छलफलका लागि विपक्षी महानगरपालिका र निवेदकलाई पेसी तोकेको छ ।
रिटमा टुकुचामाथिका सबै घर नभत्काउनु भनिएको छैन । तर, महानगरले भने अदालतको स्टे अर्डरको समय नसकिँदासम्म खाली भागमा मात्रै टुकुचा खोतल्ने जनाएको छ ।

त्यसका लागि कमलादीदेखि जयनेपाल हलसम्मको खोलामा रातिमा समेत काम गर्न महानगरले बत्ती जडान गरेको छ । बिहीबार पेसी तोकेकाले त्यहाँ छलफलका लागि महानगर उपस्थित हुने र उक्त दिनसम्म व्यक्तिका घरभन्दा पनि खाली रहेको भागमा टुकुचा खोतल्ने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

मानन्धरले अदालतको स्टे अर्डर माने पनि कामचाहिँ नरोकिने जानकारी दिए । स्टे अर्डरका कारण व्यक्तिको घरमा डोजर नहाने पनि खाली ठाउँमा पुरिएको टुकुचा खोतल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *