नागरिक उन्मुक्ति पार्टीद्वारा तीन जिल्लामा उम्मेदवारी, कहाँ कसलाई ?

कैलाली । नागरिक उन्मुक्ति पार्टीले कैलालीसहित ३ जिल्लामा उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रधिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाबाट उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीका अनुसार पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र-१ बाट रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको नाम सर्वसम्मत सिफारिस भएको छ ।

त्यस्तै, क्षेत्र-२ बाट अरुण चौधरी, क्षेत्र-३ बाट गंगा चौधरीको नाम टुङ्गो लागेको उनले बताए । क्षेत्र-४ बाट राजाराम चौधरी र पूर्व सांसद कैया चौधरीमध्ये एक जना उम्मेदवार बन्ने पक्का भएको । क्षेत्र-५ बाट थरुहट नेता लक्ष्मण थारुलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ ।

त्यस्तै, कञ्चनपुर क्षेत्र-१ बाट पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार राना, क्षेत्र-२ बाट फूलराम चौधरी र क्षेत्र-३ बाट मुन्नी चौधरीलाई उम्मेदवार बनाउने तयारी रहेको छ ।

त्यस्तै, बर्दियाको निर्वाचन क्षेत्र-१ मा ३ जनाको नाम अगाडि सारिएको छ । सो क्षेत्रबाट डा प्रदीप ढकाल, सोमै थारु र पार्टीकै संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरीमध्ये एक जना उम्मेदवार बन्ने जनाइएको छ । क्षेत्र -२ बाट रेशम चौधरीको नाम अगाडि सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *