काठमाडाैँ । चीनले कोभिड-१९ महामारीबाट प्रभावित ३६ सय परिवारलाई राहत प्याकेजस्वरूप खाद्यान्न वितरण गरेको छ । चीन सरकार, ग्लोबल डेभलपमेन्ट एन्ड साउथ साउथ कोअपरेसन फण्ड र चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सचेन्जको सहयोगमा, चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपालको कार्यालयले काठमाडौंको कीर्तिपुरस्थित श्री बालकुमारी माविमा एक औपचारिक कार्यक्रम गरी उक्त परियोजना सुरू गरेकाे हाे ।
परियाेजनाअन्तर्गत पीडित परिवारलाई दुई महिनाको लागि पुग्ने आधारभूत खाद्य सामग्री चामल २५ केजी, खाना पकाउने तेल २ लिटर र दाल ६ केजी वितरण गरिने छ ।
परियाेजनाकाे उद्घाटन गर्दै सीएफआरडी नेपालकी प्रमुख चाै च्री छियाङ्ले दोलखा, काठमाडौं, महोत्तरी र सप्तरी गरी चार जिल्लाका २२ सामुदायिक विद्यालयमार्फत खाद्यान्न वितरण गरिने बताइन् । चाडै नै आउँदै गरेको राष्ट्रिय चाड दशैं र तिहार मनाउन सहयोग गरिएका खाद्यान्न सामग्रीहरू उनीहरूका लागि ठूलो राहत हुनेछ भन्ने आशा राख्दै उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।
गरिब बालबालिका र परिवारले भोग्नुपरेको भोकमरीको समस्यालाई न्यूनिकरण गर्ने र चिनियाँ जनताको मित्रताको सन्देश फैल्याउँदै जनताबीचको सम्बन्धलाई मजबुत बनाउने यस परियोजनाको उद्देश्य रहेको जनाइएकाे छ ।
खाद्य प्याकेज वितरण कार्यक्रम ‘अन्तर्राष्ट्रिय समाइलिंग चिल्ड्रेन प्रोग्राम’ को उप-कार्यक्रम हो । विद्यालयले सामान्य रूपमा खाना उपलब्ध गराउन नसक्ने विशेष परिस्थितिमा लाभग्राही बालबालिकाका परिवारहरूलाई उनीहरूलाई कठिनाइहरू हटाउन र भोकमरीकाे समस्या कम गर्न मद्दत गर्न खाद्य प्याकेजहरू वितरण गरिएको हो । यसले चिनियाँ जनता र मित्रहरूको माया र जनताबीचको सञ्चार र सम्बन्धलाई प्रगाढ बनाउने आशा छ, प्रमुख चाैले भनिन् ।

