‘चोलेन्द्रजस्ता मानिस कहिल्यै नजन्मिउन्’

काठमाडौं । नेपाल बार एसोसिएसनका निर्वतमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकामा चोलेन्द्रजस्ता मानिस कहिले नजन्मिऊन् भनी कामना गरेका छन्। संसद्को महाअभियोग सिफारिस समितिमा बिहीबारको बैठकमा उनले यस्तो कामना गरेका हुन् ।

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समितिमा बयान दिने क्रममा अधिवक्ता पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन श्रेष्ठले गरेको आग्रहलाई आफूले इन्कार गरेको र त्यसैको असन्तुष्टि पोख्न श्रेष्ठ आफूविरुद्ध लागेको आरोप लगाएका थिए ।

राणाले बयानका क्रममा नाम किटेकाहरुलाई समितिमा बोलाउने क्रममा बिहीबार बारका निवर्तमान अध्यक्ष श्रेष्ठसँग सांसदहरुले छलफल गरेका थिए । आफू कसैलाई पनि न्यायाधीश बनाउन नलागेको बताउँदै श्रेष्ठले राणासँग न्यायाधीश पद नमागेको दाबी गर्दै भने– ‘राणाको सो दाबी सही हो भने सीसीटिभी फुटेज सार्वजनिक गर्न आग्रह गर्दछु ।’ बारको अध्यक्षको हैसियतले आफूले न्यायालय सुधारका लागि अघि बढ्दा सो आरोप लगाइएको पनि श्रेष्ठले बताए । श्रेष्ठले आफूमाथि लागेको आरोप प्रमाणित गर्ने प्रमाण पुष्टि गरे आफू पेसा छाड्न तयार रहेको बताउँदै भने– ‘न्यायालय सुधारका लागि सबै पक्ष लागिपर्न आग्रह गर्दछु ।’

कुनै मुद्दामा राणाले ४ करोड रुपैयाँ लिएर फैसला गरेको भन्ने सुन्नमा आएको भन्दै श्रेष्ठले त्यसमाथि पनि छानविन होस् भन्ने माग गरे। श्रेष्ठले आफू ७१ वर्षको भएको र चोलेन्द्र शमशेरभन्दा निकै अघिदेखि वकालत पेसामा आबद्ध रहेको उल्लेख गर्दै न्यायाधीश नियुक्तिमा चलखेल गरेको भए कारबाही भोग्न तयार रहेको बताए । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *