मतपरिणाम आँकलन गर्न नसकिने उपत्यका

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिक आइरहेको छ । राजनीतिक दलहरुले उम्मेदवार छनोटका लागि मापदण्ड बनाएर उम्मेदवार सिफारिस गर्न जिल्ला क्षेत्र र प्रदेशलाई निर्देशन दिएका छन् । केन्द्रको निर्देशनअनुसार दलहरु तल्ला तहबाट उम्मेदवार सिफारिस गरिरहेका छन् । सरकारले साउनमै निर्वाचनको मिति घोषणा गरेको थियो । सत्ता गठबन्धन त सिट बाँडफाँटमै फसेको छ । जहिल्यै आज, भोलि सहमति जुट्छ भन्दै नेताहरुले बताएपनि उनीहरुबीच कुरा मिलेको छैन । माओवादी अध्यक्ष प्रचण्डकाअनुसार अब सहमतिको भाका फेरि सरेको छ । उनका अनुसार अब असोज ४ गतेपछि मात्रै सिट बाँडफाँटको टुंगो लाग्नेछ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि उम्मेदवार चयनमा जुटेको छ । असोज दुई गते समानुपातिक तर्फको बन्दसूची बुझाउनुपर्ने भएकाले पनि दलहरु त्यसमा जुटेका छन् । दलहरु यसमा व्यस्त देखिएपनि राजधानी उपत्यकामा भने चुनावी माहौल तातेको पाइँदैन । सुरुमा राजधानी काठमाडौं उपत्याकामा चुनावी सरगर्मी सुरु हुने र त्यसले क्रमशः मलुकलाई तताउँदै लैजाने गरेको विगत देखि नै देखिन्छ । तर यस पटक भने राजधानी काठमाडौं नै तात्न सकेको छैन ।

बास्तवमा चुनावी माहौल तताउने भनेको उमेद्वारले हो । उमेद्वारहरुले आफूलाई जति धेरै चर्चामा ल्याउँछन्, त्यति नै बढी चुनावी माहौल तात्ने हो । गत स्थानीय तह निर्वाचन लगत्तै स्वतन्त्र उमेद्वारहरुको चर्चाले काठमाडौंको माहौल तताउन सुरु गरेको थियो । तर यतिबेला स्वतन्त्रहरुको चर्चा पनि सेलाएको छ । उपत्यकाका तीन जिल्लामा प्रतिनिधिसभामा १५ सिट छ । पछिल्लो जनगणना अनुसार काठमाडौं उपत्याकाको कुल जनसंख्या करिव ४५ लाख छ तर मतदाता भने १० लाख छन् ।

थोरै मत ल्याए पनि चुनाव जित्न सकिने भएकोले काठमाडौंमा स्वतन्त्र उम्मेदवाहरु बढी जुरुमुराएका छन् । किनकी बाहिरी जिल्लामा ४०/५० हजार मत ल्याउनुपर्छ चुनाव जित्न । तर उपत्यकामा त १०/ १२ हजार ल्याउनेले पनि चुनाव जित्छ । मतदाताका हिसावले मात्रै होइन जनसंख्याको हिसावले पनि काठमाडौंका निर्वाचन क्षेत्र निकै साना छन् ।
काठमाडौं उपत्याकाका ३ जिल्ला मध्ये भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीले चुनाव जित्ने सुनिश्चित अवस्था बाहेक बाँकी १४ वटा निर्वाचन क्षेत्रमा यसै भन्न सकिने अवस्था छैन । यो निर्वाचन क्षेत्रबाट २०४८ सालदेखि नै लगातार नेपाल मजदुर किसान पार्टीले चुनाव जित्दै आएको छ । पछिल्ला ३ वटा निर्वाचनको मत परिणाम हेर्ने हो भने एउटै पार्टी तथा उम्मेदवारले लगातार ३ पटक चुनाव जितेको भनेको काठमाडौं क्षेत्र नम्बर १ हो । यसबाहेक २०६४ साल यता काठमाडौं क्षेत्र नम्बर २ मा एक पटक माओवादीले, एक पटक उपनिर्वाचनमा कांग्रेसले र २ पटक एमालेले जितेको छ । काठमाडौं क्षेत्र नम्बर ३ मा दुई पटक कांग्रेसले र एक पटक एमालेले जितेको देखिन्छ । क्षेत्र नम्बर ४ मा दुई पटक कांग्रेसले र एक पटक एमालेले जितेको छ । क्षेत्र नम्बर ५ मा दुई पटक एमाले र एक पटक माओवादीले चुनाव जितेको देखिन्छ ।

क्षेत्र नम्बर ६ मा एक पटक माओवादी र दुई पटक कांग्रेसले चुनाव जितेको छ । क्षेत्र नम्बर ७ मा एकपटक माओवदी र दुई पटक एमालेले चुनाव जितेको छ । क्षेत्र नम्बर ८ मा दुई पटक कांग्रेस र एक पटक एमालेले चुनाव जितेको छ ।
क्षेत्र नम्बर ९ मा माओवादी, कांग्रेस र एमालेले एक एक पटक चुनाव जितेका छन् । क्षेत्र नम्बर १० मा एक पटक माओवादी र २ पटक कांग्रेसले चुनाव जितेका छन् । यसैगरी भक्तपुर क्षेत्र नम्बर २ मा दुई पटक कांग्रेसले र एक पटक एमालेले चुनाव जितेको छ । ललितपुर क्षेत्र नम्बर एक र दुईमा कांग्रेस , एमाले र माओवादीले एक एक पटक चुनाव जितेका छन् । ललितपुर क्षेत्र नंम्बर ३ मा भने एक पटक कांग्रेसले र दुई पटक माओवादीले चुनाव जितेका छन् ।
काठमाडौंको चुनावी परिणाम सामान्यतया विश्लेषकहरुले विश्लेषण गर्न नसक्ने अवस्थाको छ । २०१५ सालको आमनिर्वाचन देखिनै काठमाडौंको चुनावी परिणाम अप्रत्यासित आउने गरेको उदाहरण छ ।

२०१५ सालको आम निर्वाचनका काठमाडौंमा गणेशमान सिंह र पुष्पलाल श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । पुरै माहौल पुष्पलालको पक्षमा थियो । तर मतगणाना हुँदै गर्दा गणेशमानले भारी मतले जिते । २०१५ सालपछि एकैचोटी २०३८ सालमा आम निर्वाचन भएको हो । २०३८ सालको आमनिर्वाचनको माहौलमा नानीमैया दाहालको चर्चा नै थिएन । तर भारी मतान्तरले नानीमैया दाहालले चुनाव जितिन् । २०४३ सालको आम निर्वाचनमा जोगमेहरको पराजय र पद्यरत्न तुलाधरको विजयलाई कसैले पनि पूर्वानुमान गरेका थिएनन् । २०४४ सालको स्थानीय निर्वाचनमा हरिबोल भट्टराईको जित पनि अप्रत्यासित थियो ।

२०४८ सालको आम निर्वाचनमा कृष्णप्रसाद भट्टराई र मंगलादेवी सिंहले चुनाव हार्लान् भन्ने अनुमान धेरैले गरेका थिएनन् । २०६४ सालको आम निर्वाचनमा माधवकुमार नेपालले हारेर झक्कुप्रसाद सुवेदीले चुनाव जित्लान्, विद्यादेवी भण्डारीले हारेर सुप्रभा घिमिरेले चुनाव जित्लिन् भन्ने आँकलन कसैको पनि थिएन । त्यस्तै २०७० सालको आम निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट चुनाव हार्लान् भन्ने अनुमान पनि धेरैले गरेका थिएनन् । त्यस्तै २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार राजुराज जोशीको यतिविधि कन्त विजोग होला, रन्जु दर्शनाले त्यति धेरै मत पाउलिन् भन्ने पनि कसैले आँकलन गरेका थिएनन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनकै क्रममा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले कांग्रेस र माओवादीको गठबन्धनलाई निकै भारी मतले चुनाव हराउलान् भन्ने कल्पनै गरिएको थिएन ।

गत आमनिर्वाचनमा समानुपातिक तर्फ कांग्रेसको भोट ७५ हजार, एमालेको भोट ७२ हजार, माओवादीको ८ हजार आएको थियो । कोही नयाँ अवतार निस्केन र बाहिरी जिल्लाको जस्तै परम्परागत रुझान कायमै रह्यो भने काठमाडौंमा हुने प्रतिस्पर्धा फेरि पनि कांग्रेस र एमाले बीच नै हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *