कांग्रेसमा गर्लान् त शेखरले विद्रोह ?

काठमाडौं । गत मंसिरमा सम्पन्न महाधिवेशनमा डा. शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा सभापतिमा निर्वाचत भएका थिए । पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५खमत पाए । देउवाले पाएको मत कुल प्रतिनिधिको ५७.६२ प्रतिशत हो । पहिलो चरणमा देउवाको विरुद्धमा सभापतिको उम्मेदवार बनेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले दोस्रो चरणमा समर्थन गरेपछि देउवालाई चुनाव जित्न सहज बनेको थियो । निधि र सिंहले समर्थन नगरेको भए सायद देउवा पराजित हुन पनि सक्थे ।

देउवा प्रधानमन्त्री भएकाले नेताहरुलाई आश र त्रासमा राख्न सके र उनलाई चुनाव जित्न सहज भयो । महाधिवेशनबाट सभापति निर्वाचित भएपछि देउवाले आफू कुनै गुटको नभई सिंगो कांग्रेस पार्टीको सभापति भएको र पार्टीका सबै नेतालाई मिलाएर लैजाने बताएका थिए । देउवाले भन्न त भने मिलाएर लैजान्छु भने । तर देउवाले सुरुदेखि नै कोइराला पक्षलाई पेलेर जाने गरी निर्णय गर्न थाले । देउवाले वरियता तोक्ने क्रमबाटै त्यसको सुरुवात गरे । देउवाले कोइरालालाई २० औं नम्बरको वरियतामा राखे ।

महाधिवेशनपछि गत वैशाखमा स्थानीय तहको निर्वाचन भयो । कोइराला पक्षले निर्वाचनमा गठबन्धन बनाएर नजान र पार्टी एक्लै जानुपर्ने भन्दै देउवालाई आग्रह गर्यो । तर देउवाले त्यसको टेरपुछर लगाएनन् । सत्तारुढ पाँच दल गठबन्धन बनाएरै चुनावमा गए । गठबन्धन बनाएर चुनावमा गएको बताएपछि गठबन्धन चाहिँ २२० पालिकामा मात्र भएको थियो । अब आगामी मंसिर चार गतेका लागि संघ र प्रदेशको निर्वाचन हुँदैछ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन २० गते आगामी चुनावमा तालमेल गर्ने सहमति गर्दै ११ सदस्यीय कार्यदल बनाएका थिए ।

कार्यदल र शीर्ष तहमा दर्जनौं पटक छलफल भएपनि सहमति जुटेको छैन । कोइराला पक्षले गठबन्धन गरेर चुनावमा जाने भए कांग्रेसले एकसय सिट लिनुपर्ने बताउँदै आएको छ । तर देउवा ८५ सिटसम्ममा मान्न तयार रहेको बताइन्छ । कोइरालाले आगामी चुनावमा एकसय सिटभन्दा कम लिएर चुनावमा जाँदा पार्टीभित्रै विद्रोह हुनसक्ने चेतावनी दिएका छन् । उनले भने,‘गठबन्धन एकल बहुमत ल्याउन गर्ने हो ।

पाँच वर्ष स्थायी सरकार दिन्छौँ, भनेका छौँ । सरकार बनाएर जान मात्रै गठबन्धन सोचेको भए त्यसले हामीलाई अप्ठ्यारो पार्छ । बहुमत बनाउन कांग्रेसले सय सिट लिनुपर्छ, नत्र हुँदैन। त्यसले हामीबीच विग्रह र विद्रोह आउँछ । कांग्रेसमा समस्या बढ्न सक्छ।’  कोइरालाले एकसय सिटको बटमलाइन राख्न दबाब दिएपछि देउवा गठबन्धनको विरोध गर्नु पार्टीविरूद्ध हुने बताउँदै आएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले त पार्टीका नेताहरुलाई सत्ता गठबन्धनविरुद्ध भाषण गर्दै नहिंड्न चेतावनी दिएका छन् । उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरुले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताएका छन् । उनले भने,‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ । तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली काँग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन । गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनियता हो । राजनीतिक धर्म र दायित्व हो ।’ हुन त केही दिनअघि कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । भेटमा कोइराला पक्षले एमालेसँग गठबन्धन गर्ने कुरा गरेको खबर सार्वजनिक भएपनि भेटवार्तामा भएको कुराकानीको विषयबारे केही बताइएको छैन । तर कोइरालाले एकसय सिट भन्दा कम लिए विद्रोह गर्ने बताउँदै आएका छन् ।

सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा रस्साकस्सी चलिरहेको छ । प्रत्यक्ष १६५ सिटमा गठबन्धनमा नेपाली कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । जसका कारण अहिलेसम्म सिट बाँडफाँटमा सहमति नजुटेको हो ।

त्यसैले कांग्रेसले एकसय सिट पाउने सम्भावनै छैन । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसले ८५ वरपर सिट पाउने बताएका थिए । मोरङ निवासी संस्थापन इतरका नेता कोइराला आफ्नो क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस समेत हुन सकेनन् । उनको क्षेत्र नम्बर ६ बाट उनीसहित चार जना सिफारिस भएका छन् ।

यो क्षेत्रबाट कोइरालासँगै डा. डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भई जिल्लामा आएको आएको छ । देउवा पक्षले कोइरालालाई टिकट दिनसमेत चुनौती दिने गरी अन्यको नाम सिफारिस गरेको छ । यस्तो अवस्थामा देउवाले दबाबमा राखेका शेखर कोइराला पक्षले गर्ला त विद्रोह ? कांग्रेसभित्रै अर्को पक्षको बन्ला त गठबन्धन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *