काठमाडौं । असोजदेखि सेयर कारोबार हप्ताको पाँच दिन मात्रै हुने भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार हुँदै आएको कारोबारलाई हटाएर हप्ताको पाँच दिन मात्र कारोबार खुला गर्ने भएको हो । शनिबार सार्वजनिक बिदाको दिनमा भने कारोबार बन्द रहदै आएको थियो ।
नेप्सेले मंगलबार सूचना प्रकाशन गर्दै असोजदेखि शुक्रबारको कारोबार बन्द गराउने जानकारी गराएको हो । ‘भदौ १९ मा बसेको नेप्से सञ्चालक समितिको बैठकबाट असोजदेखि लागू हुने गरी आइतबारदेखि बिहीबारसम्म धितोपत्र कारोबार गर्ने–गराउने निर्णय भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ नेप्सेको सूचनामा उल्लेख छ ।
हप्ताको ६ दिन कारोबार १ असारदेखि लागू भएको थियो । जसअनुसार हाल शुक्रबार पनि दुई घन्टा सेयर कारोबार हुँदै आएको छ । अहिलेको व्यवस्थाअनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खुला हुँदै आएको छ । असोजबाट भने ११ बजेदेखि दिउँसो ३ बजेसम्म पाँच दिन कारोबार हुनेछ ।