काठमाडौं । काठमाडौंमा मंगलबारबाट शुरु हुने महिला साफ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला फूटबल टोलीको कप्तानी एन्जिला तुम्बापो सुब्बाले गर्ने भएकी छिन् । अखिल नेपाल फूटबल संघ(एन्फा)ले सोमबार भएको प्रि-म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानको रुपमा सार्वजनिक गरेको हो ।
नियमित कप्तान रेनुका नगरकोटीले चोटको कारण साफ गुमाएपछि एन्जिलाले कप्तानको जिम्मेवारी पाएकी हुन् । यस्तै टोलीको उपकप्तानको जिम्मेवारी अमृता जैशीले पाएकी छिन् ।
नेपालले भोलि हुने प्रतियोगिताको उद्धाटन खेलमा भुटानको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ । प्रतियोगिताको टिकटको मूल्य भिआइपीतर्फ ५ सय र साधारणतर्फ ३ सय ररुपैयाँ तोकिएको छ ।