काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई विभिन्न गैरघातक सैन्य सामग्री हस्तान्तरण गरेको छ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले सोमबार सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच आफ्ना नेपाली समकक्षी प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
भारतीय सेनाले नेपाली सेनालाई सहयोग गरेका सामग्री करिब २२ करोड ३८ लाख ३८ हजार रुपैयाँ मूल्य बराबरको रहेको छ । तोप मर्मतसम्भारका पार्टपुर्जा, घोडा, सिमुलेटर, विस्फोटक पदार्थ प्रतिरोध सवारी साधन र घुम्ती अस्पतालका लागि आवश्यक उपकरणलगायत सामग्री भारतीय सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई हस्तान्तरण गरेका छन् ।
सहयोग हस्तान्तरणअघि भारतीय सेनाध्यक्ष जनरल पाण्डेले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका थिए । सोमबार बिहान भेटमा दुई देशबीचको सैन्य सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो । त्यसअघि सेनाध्यक्ष पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका थिए ।
प्रधानसेनापति शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो । सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे ।
यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन् । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार यहाँ आएका हुन् ।