काठमाडौं । एमालेका १९ मध्ये १३ जना पदाधिकारी आगामी ४ मंसिरको निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । अध्यक्ष केपी ओली झापा– ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । ओलीसहित उपाध्यक्ष सुवास नेम्वाङ, सचिवद्वय योगेश भट्टराई र रघुवीर महासेठको नाम सिफारिस हुन बाँकी छ ।
पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादल प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बन्दै छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२बाट, अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपाध्यक्ष युवराज ज्ञवाली दाङ–३ बाट चितवन– १ बाट सिफारिस भएका छन् ।
महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट, उपमहासचिव प्रदीप ज्ञवालीको नाम गुल्मी–१ बाट, अर्का उपमहासचिव तथा गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेश सभा सदस्यमै उम्मेदवार बन्ने भएका छन् । अर्का उपमहासचिव विष्णु रिमाल नुवाकोट– १ बाट सिफारिस भएका छन् ।
सचिवहरू टोपबहादुर रायमाझी अर्घाखाँचीबाट, गोकर्ण विष्ट गुल्मी– २ बाट, छविलाल विश्वकर्मा रुपन्देही– १ बाट, लेखराज भट्ट कैलाली–४ बाट सिफारिस भएका छन् । सचिव योगेश भट्टराई ताप्लेजुङ र अर्का सचिव रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार बन्दैछन् ।
अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पनि समानुपातिकबाट उम्मेदवार बन्ने योजनामा छन् । त्यस्तै, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम– २ बाट उम्मेदवार बन्दै छन् । पूर्वउपाध्यक्ष भीमबहादुर रावल अछाम– १ बाट सर्वसम्मत सिफारिस भएका छन् । पूर्वउपमहासचिव घनश्याम भुसाल रूपन्देही–३ बाट उम्मेदवार सिफारिस भएका छन् । भुसालसहित वासुदेव घिमिरे, दुर्गा भुसाल र सर्वजित शाहको नाम सिफारिस भएको छ ।
