सरकार नै दिन्छ कर्मचारीलाई लुकीछिपी बाह्य काम गर्ने लाइसेन्स

काठमाडौं। सरकारले नै कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिँदा अधिकांश कर्मचारी बाहिर पढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिदबिक्रीमा समेत व्यस्त हुने क्रम ह्वात्तै बढेको छ ।

यस सम्बन्धमा सरकारका कुनै पनि निकायले अनुगमन गर्न सकेको छैन । अनुगमन गर्ने जिम्मेवारीमा रहेको राष्ट्रिय सर्तकता केन्द्रले पनि यस विषयमा बेवास्ता गर्दै आइरहेको छ ।

नियमित तलबबाहेक अतिरिक्त भत्ता र सुविधामा मात्रै वार्षिक अर्बभन्दा बढी रकम सक्ने कर्मचारीले अतिरिक्त काम गर्ने लाइसेन्स लिएर थप आर्जन गर्नसमेत बाँकी राखेका छैनन् । यसरी कर्मचारीले बाहिर धेरै काम गर्दा सरकारी काममा नराम्ररी ह्याम्पर परिरहेको सेवाग्राहीको गुनासो छ ।

सर्वसाधारणले यस्तो प्रवृत्तिलाई कर्मचारीको ठग र कामचोर प्रवृत्तिका रूपमा लिएका छन् । कैयौं कर्मचारी बाहिर व्यस्त हुँदा प्रायः कार्यकक्षमा कम भेटिने गरेका छन् । कर्मचारी बाहिर काम गर्न जाँदा उनीहरूले मिटिङमा गएको बहाना बनाउने गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार त्यसरी अतिरिक्त काम गर्ने लाइसेन्स लिने कर्मचारीको संख्या हजारौं छ । तर, यसम्बन्धी रेकर्ड दिन मन्त्रालयका अधिकारी अनिच्छुक हुने गरेका छन् ।

मन्त्रलाय स्रोतका अनुसार केन्द्रमा मात्रै यस्तो लाइसेन्स लिने कर्मचारीको संख्या २ हजार बढी रहेको छ । देशभर गरी हजारौं कर्मचारीले त्यस्तो लाइसेन्स लिएको बताइएको छ । यससम्बन्धी एकीकृत तथ्यांक कसैसँग छैन ।

कर्मचारीलाई हेर्ने (सीपीए)का रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि यससम्बन्धी एकीकृत तथ्यांक छैन । कतिपय कर्मचारीले भने बिनास्वीकृति अतिरिक्त लाभ हुने काम गरिरहेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीको भनाइ छ ।

यसरी आपूmखुसी बाहिरी काम गर्ने र सरकारी काममा कम ध्यान दिने भएकाले सर्वसाधारण सेवाग्राहीले निजामती कर्मचारीलाई कामचोरको संज्ञा दिने गरेका छन् ।

विगतमा सरकारका विभिन्न निकायले कर्मचारीलाई बाहिर पढाउने, लेखापरीक्षण गर्ने, सेयर खरिद बिक्री गर्नेजस्ता कार्य गर्न अनुमति दिएकाले सो अनुमतिका आधारमा कर्मचारीले थप आयआर्जन हुने अतिरिक्त काम गरिरहेका हुन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *