चितवन–१ मा कांग्रेसका मन्त्रीदेखि अर्थशास्त्रीसम्मको आकांक्षा

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचन चितवन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न ६ जनाले नाम दर्ता गराएका छन्। नाम दर्ता गराउनेमा राज्यमन्त्रीदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत छन्। नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेको थियो।

नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने आकांक्षीमा वर्तमान प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसमेत छन्। श्रेष्ठसंगै राष्ट्रिय योजना आयोगका वर्तमान उपाध्यक्ष डा।विश्वनाथ पोडेल, पूर्व उपाध्यक्ष डा स्वर्णीम वाग्लेले समेत नाम दर्ता गराएका छन्। वाग्ले युएनडिपीको एसिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार थिए। उनी हालै नेपाल आएका हुन्। वाग्ले र पौडेल कांग्रेसका क्रियाशील सदस्य हुन्। तर, उनीहरू महाधिवेशन प्रतिनिधि केन्द्रीय सदस्यसमेत बन्न सकेका छैनन्।

यस्तै दुईपटक चुनाव लडेर पराजित भएका राजेन्द्र प्रसाद बुर्लाकोटी फेरि उम्मेद्वार बन्न आंकाक्षा देखाएका छन्। उनी २०७० /२०७४ को निर्वाचनमा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेसंग पराजित भएका थिए। त्यस्तै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा।तिर्थराज खनियाँ र भीमप्रसाद थपलियाले नाम दर्ता गराएको सभापति ओलीले जानकारी दिए। खानियाँ महाधिवेशन प्रतिनिधि हुन भने थपलिया पूर्वमहाधिवेशन प्रतिनिधि हुन्।

त्यसै समानुपातिकतर्फ उम्मेदवार बन्न ८ जनाले नाम दर्ता गराएका छन्। पूर्वमन्त्री सावित्री बोगटी पाठक, पूर्व सांसद सावित्रीदेवी चौधरी, जोखाप्रसाद चौधरी, शुशीलादेवी उप्रेती, वासुदेव चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापाले उम्मेदवार बन्न नाम दर्ता गराएको सभापति ओलीले जानकारी दिए। कांग्रेसले अहिले संघ र प्रदेशमा उम्मेदवार बन्न चाहने आकांक्षीको नाम दर्ता गराइरहेको छ। यस्तै चितवन क्षेत्र नम्बर २ र ३ का लागि बुधबार उम्मेदवारको माग गरिएको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *