प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ७६ दलको ६८ निवेदन, प्रदेशसभामा कहाँ कति ?

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले ६८ निवेदन पेस गरेका छन् ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आफ्नो केन्द्रीय कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिन १० देखि १२ भदौसम्म गरी तीन दिनको समय तोकेको थियो ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता गर्न तोकिएको समयभित्र ७६ दलले ६८ निवेदन दर्ता गराएको जानकारी दिए ।

त्यस्तै, प्रदेश सभातर्फ प्रदेश १ मा ५५ निवेदनमार्फत ६३ दल, मधेस प्रदेशमा ५९ निवेदनमार्फत ६७ दल, बाग्मती प्रदेशमा ५८ निवेदनमार्फत ६६ दल, गण्डकी प्रदेशमा ५२ निवेदनमार्फत ६० दल, लुम्बिनी प्रदेशमा ५४ निवदेनमार्फत ६२ दल, कर्णाली प्रदेशमा ४९ निवेदनमार्फत ५७ दल र सुदुरपश्चिम प्रदेशमा ५० निवेदनमार्फत् ५८ दलले निवेदन दर्ता गराएको आयोग प्रवक्ता शर्माले जानकारी दिए ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलले आगामी २ असोजमा उम्मेदवारको बन्दसूची आयोगमा पेस गर्नुपर्नेछ । बन्दसूची पेस गर्ने दलले मात्रै आगामी निर्वाचनमा समानुपातिक प्रणालीतर्फको प्रक्रियामा सहभागी हुन पाउनेछन् । बन्दसूची नबुझाउने दलले भने समानुपातिक प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची बुझाउने दलको मात्रै मतपत्रमा निर्वाचन चिह्न कायम हुने जानकारी दिए । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *