एजेन्सी । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेको खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा दोस्रो जीत निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ४-० गोल गोलले पराजित गरेको हो ।
क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाइन लेवान्डोस्कीले दुई गोल गर्दा पेड्री र सेर्जी रोबर्टोले समान एक/एक गोल गरे । खेलको २४ औं मिनेटमा राफिन्हाको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा डेम्बेलेको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
६४ औं मिनेटमा डेम्बेलेकै पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जीततर्फ अगाडि बढाएका थिए । यस्तै दोस्रो हाफको इन्जुरी समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४-० गोलको जीत दिलाए ।
जीतसँगै बार्सिलोना ३ खेलबाट ७ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भाल्लाडोलिड समान खेलबाट १ अंकको साथ १९ औं स्थानमा रहेको छ ।