माओवादी केन्द्रलाई ६० सिट चाहिन्छः चक्रपाणि खनाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणि खनालले आफ्नो पार्टीलाई ६० सिट चाहिने बताएका छन् ।

“सिटको ठ्याक्कै संख्या म भन्न सक्दिनँ । तर बाबुराम भट्टराई र वामदेव गौतम पनि हाम्रै पार्टीको चुनाव चिह्नमा लड्ने भनेकाले अब माओवादी केन्द्रलाई ६० सिट चाहिन्छ । २०७४ मा पनि हामीले ६०–४० को भागबन्डा गरेकै हौं । छलफल चलिरहेको छ ।सहमति कायम गरेर जानुपर्छ । समाधानको निकट पुगेको छ । कार्यदलका साथीहरुले सिटको संख्या एक(दुईमा टुंगो लाग्छ भन्नुभएको छ,” नेता खनालले भने ।

निर्वाचनपछि को प्रधानमन्त्री हुने भन्ने कुरा निक्र्यौल भइनसकेको पनि उनले बताए । खनालले भने,” त्यो निर्वाचनपछिका कुरा हो । अहिले नै यो प्रधानमन्त्री हो भनेर हुँदैन । गठबन्धन गरिसकेपछि पावर सेयरिङ हुन्छ । त्यसलाई नयाँ शिराबाट सोच्न सकिन्छ । तर अहिलेको प्राथमिकता त्यो होइन । प्रमुख कुरा निर्वाचन जित्ने हो ।”

उनले नागरिकता विधेयकमा राष्ट्रपतिले लालमोहर नलगाए अर्को कसैले लगाउँने पनि बताए । उनले भने, “राष्ट्रपतिले नागरिकता विधेयकमा चासो लिने कुरा ठीकै छ । उहाँले फिर्ता पठाएपछि पनि संसद्मा छलफल गरेर पारित गरियो । अब पनि संवैधानिक विकल्प छ भने उहाँले प्रयोग गर्न सक्नुहुन्छ ।”

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले जघन्य अपराधमा आम माफी दिने कुरा नगरेको दाबी पनि खनालले गरे । उनले भने, कुनै सनकीलाई अहिले झोक चल्यो भन्दैमा पुरानो कुरा गरेर हुन्छ? हत्या कहिले गर्यो, त्यो अहिलेको विषय होइन । पूर्वसहमति गरिएका विषयमा समाधान खोज्नुपर्यो । विधेयकलाई सदनमा राम्रो छलफल गरेर अघि बढाउनुपर्छ । कानुनै चाहिँदैन भन्दा समस्या पैदा गर्छ । त्यसरी मुलुक रहन्छ?”

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *