काठमाडौं । नेकपा एमालेलाई ‘पत्तासाफ’ गर्ने भन्दै एमालेबाट विद्रोह गरी माधवकुमार नेपालले गतवर्ष गठन गरेको दल नेकपा(एकीकृत समाजवादी) यतिबेला आफैं पत्तासाफ हुने अवस्थामा पुगेको छ । दैनिकजसो नेताहरुका फरक फरक अभिव्यक्ति सुन्दा एकीकृत समाजवादी पत्तासाफ हुने अवस्थामा पुगेको देखिएको छ । एकीकृत समाजवादीले गतसाता नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको थियो । यस निर्णयअनुसार यो दल केही समयपछि रहने छैन ।
यसै सन्दर्भमा माधव नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पटक पटक छलफल पनि गरेका छन् । छलफलमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने विषयमा सहमति भएको बताइएको छ । पार्टी कार्यक्रमका सिलसिलामा पाल्पा पुगेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मङ्सिरमा हुने निर्वाचनलगत्तै पार्टी एकता हुने बताए । नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको खनालको भनाई थियो ।
तर मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले पार्टी आफ्नै चुनाव चिह्नमा निर्वाचनमा जाने बताए । उनले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भए पनि आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्हमा लड्ने बताए । एकीकृत समाजवादीका नेताका अभिव्यक्ति सुन्दा कहिले आजै माओवादीसँग एकता भइहाल्छ जस्तो त कहिले एक्लै हिँड्ने जस्तो सुनिदै आइएको छ । नेपाल र खनाल कहिले आशावादी र कतै निराशावादी अभिव्यक्ति दिँदै हिँडेका छन् ।
खासगरी सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलको भागबण्डामा पनि एकीकृत समाजवादी प्राथमिकतामा नपरेको बताइएको छ । कार्यदलमा पार्टीका तर्फबाट दुई जना सदस्य भएपनि एकीकृत समाजवादीलाई विशिष्ट व्यवस्था गर्ने भन्दै पन्छाइएको बताइन्छ । साउन मसान्तभित्र कार्यदलले सिट बाँडफाँट टुंग्याएर शीर्ष नेतालाई बुझाउने भनिएपनि कार्यदलका दैनिकजसो बस्ने बैठक बैठकमा मात्र सीमित हुने गरेका छन् ।
स्थानीय तह निर्वाचन लगत्तै माधव नेपाल र झलनाथ खनालले गठबन्धनमा कांग्रेसले असहयोग गरेको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका थिए । उनीहरुले हैसियत अनुसार सिट बाँडफाँट हुनुपर्ने बताउँदै आएका थिए । खनालले त कांग्रेससँग गठबन्धन गर्न नहुनेसमेत बताएका थिए । तर आगामी मंसिर चारका लागि निर्वाचनको मिति घोषणा भएसँगै एकीकृत समाजवादीका शीर्ष नेताको स्वर नरम हुँदै जान थालेका छन् । कांग्रेसका एकजना नेता भन्छन्,‘उहाँहरुले के ठूला कुरा गर्नु । हामीले असहयोग गरेको खण्डमा उहाँहरु प्रत्यक्षमा एकसिट जित्न सक्नुहुन्न । त्यसैले माओवादीसँग एकताका लागि हात अघि बढाइसक्नु भएको छ । उहाँहरु चुप लागेर बस्ने हो यदि अस्तित्व रक्षा गर्नु छ भने । नत्र यो दल निर्वाचनबाट आफैं नामेट हुन्छ ।’
केही दिनअघि मात्रै माधव नेपालको गृह जिल्लामा एकीकृत समाजवादीलगायत विभिन्न दलबाट पाँच हजार भन्दा बढी नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । यसबाट के स्पष्ट हुन्छ भने नेपालको आफ्नै पनि जीत सुनिश्चित छैन ।
गठबन्धन भित्रको उप गठबन्धन बनाएर प्रचण्डले एकैसाथ काङ्ग्रेस र एमालेविरुद्ध प्रहार गर्दैछन् । हजार कमजोरी होलान्, धेरै गल्ती गरेका छन्, सुधार्नु पर्ने पक्ष धेरै छन् । यसैपनि मुलुक स्थीर र विश्वसनीय संस्थाहरूको अभावको पीडा भोगिरहेको छ, राजनीतिक अस्थिरता बेहोरिरहेको छ । त्यस अवस्थामा काङ्ग्रेस र एमाले जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वसनीयता प्राप्त दलहरूको पराजयले हाम्रा आग्रहहरूलाई तुष्टि प्रदान गर्न त सकिएला तर त्यसो गरेर मुलुकलाई उँभो लगाउने अभियान संचालन गर्न सकिन्न । त्यसैले माधव नेपालले माओवादीमा लगेर पार्टी बुझाउनु भन्दा एमालेमै फर्किए उचित होला ।
