काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले आफूहरूलाई पाँच दलीय चुनावी गठबन्धनमा सहभागी गराउने कि नगराउने भन्ने विषयमा प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवाको जवाफ पर्खेर बसेको बताएका छन्।
बिहीबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले देउवालाई भेटेर आफ्नो पार्टीलाई चुनावी गठबन्धनमा समेट्ने कि नसमेट्ने भनी अविलम्ब प्रस्ट जवाफ दिन आग्रह गरेका थिए।
‘हामीलाई पाँचदलीय गठबन्धनमा ल्याउने कि नल्याउने भन्ने विषयमा स्पष्ट जवाफ दिन प्रधानमन्त्रीलाई भनेका छौं,’ लोसपाका शीर्ष नेता राजेन्द्र महतोले भने, ‘अहिले हामी प्रधानमन्त्रीको जवाफ पर्खिरहेका छौं।’ जवाफका लागि प्रधानमन्त्रीलाई भेट्ने प्रयास भइरहेको उनले बताए।
प्रधानमन्त्रीले जवाफ दिएपछि गठबन्धनको विषयमा अन्य दलहरूसँग कुराकानी हुने महतोको भनाइ छ। ‘अहिले हामी प्रधानमन्त्रीको जवाफ पर्खेर बसेका छौं। प्रधानमन्त्रीको जवाफ सकारात्मक आएन भने गठबन्धनका विषयमा अन्य दलहरूसँग कुराकानी गर्नेछौं,’ महतोले भने। चुनावी गठबन्धनको विषयमा एमालेसँग कुराकानी नभएको महतोको भनाइ छ।
यही भदौ २ मा भएको भेटमा देउवाले लोसपाका नेताहरूलाई पाँचदलीय गठबन्धनमा सहभागी हुन र सरकारमा समेत सहभागी हुन प्रस्ताव गरेका थिए। देउवाको सो प्रस्तावपछि लोसपाका नेताहरू उत्साहित भएका छन्। लोसपाका नेताहरू पाँच दलीय गठबन्धनमा सहभागी हुन सकारात्मक छन्। नागरिक दैनिकबाट