चिनियाँ जासुसी पानीजहाज श्रीलङ्कामा

एक चिनियाँ पानीजहाज श्रीलङ्काको हम्बनटोटा बन्दरगाहमा आइपुगेको छ । बन्दरगाह अधिकारीहरूका अनुसार युआन वाङ् ५ लाई श्रीलङ्काली जल क्षेत्रमा रहँदा कुनै काम नगर्ने सर्तमा त्यहाँ रोकिन दिइएको हो ।

भारतले यसअघि उक्त पानीजहाज जासुसी गतिविधिमा प्रयोग हुनसक्ने भन्दै आफ्नो चासो व्यक्त गरेको बताएको थियो । श्रीलङ्काको विदेश मन्त्रालयका अनुसार उक्त पानीजहाजलाई अगस्ट २२ सम्म चिनियाँहरूले व्यवस्थापन गरिरहेको बन्दरगाहमा रहने अनुमति दिइएको हो ।

रोयटर्स समाचार संस्थाले युआन वाङ् ५ चीनको पछिल्लो पुस्ताको जासुसी पानीजहाजमध्ये एक हो । यो पानीजहाजले भूउपग्रह, रकेट र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणलाई निगरानी गर्न सक्छ । कैयौँ भारतीय सञ्चारमाध्यमहरूले त्यसलाई दोहोरो प्रयोजनमा प्रयोग हुने जासुसी पानीजहाज भनेर व्याख्या गरेका छन् ।

पानीजहाजसम्बन्धी वेबसाइटहरूले त्यसलाई अध्ययन, अनुसन्धान र अनुगमनसम्बन्धी जहाज बताउने गर्छन्। भारतीय न्यूज च्यानल एनडीटीभीले नयाँ दिल्लीले पानीजहाजको ट्रयाकिङ प्रणालीले श्रीलङ्का जाने क्रममा भारतका सुरक्षा पूर्वाधारका विषयमा जासुसी गरिने सम्भावनाबारे चासो व्यक्त गरेको जनाएको छ ।

यसअघि जुलाईमा भारतीय विदेश मन्त्रालयका एक प्रवक्ताले आफ्नो सरकारले उक्त पानीजहाजको योजनाबद्ध भ्रमणलाई निरीक्षण गरिरहेको बताएका थिए ।

चीनले त्यसको जवाफमा कुनै देशको नाम नलिई केही देशहरूले कथित सुरक्षा चासो भनेर श्रीलङ्कालाई दबाव दिने काम पूरै औचित्यहीन रहेको बताएको थियो । श्रीलङ्काले पछि उक्त पानीजहाजलाई बन्दरगाहमा रहने अनुमति दिइएको घोषणा गरेको थियो ।

हाल गम्भीर आर्थिक सङ्कटमा रहेको श्रीलङ्कामा बेइजिङको बढ्दो प्रभावका माझ भारतीय चासो देखा परेको हो । बेइजिङले श्रीलङ्कालाई बेल्ट एन्ड रोड अवधारणा अन्तर्गत एशियामा पूर्वाधार विकास गर्नका लागि अर्बौँ डलर ऋण दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *