एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एउटै चुनाव चिह्न लिएर एकभन्दा बढी दल निर्वाचन आयोगमा दर्ता हुन सक्ने कानुनी व्यवस्था रहेको बताएका छन् ।

‘नियम–कानुनका दफामा टेकेर हामीले निर्णय लिने हो, दुई दल एउटै चुनाव चिह्न लिएर उठ्न सक्ने गरी दल दर्तामा आउन सक्छन्’, प्रमुख आयुक्त थपलियाले आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा भने– ‘दलगत स्वार्थ र राजनीतिक हित कसको के हो, निर्वाचन आयोगलाई थाहा छैन ।’

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लिएर दलहरूबीच संयुक्त चुनाव चिह्नलाई लिएर बहस जारी छ । गत स्थानीय निर्वाचन सत्ताधारी पाँच दलले बेग्लाबेग्लै निर्वाचन चिह्न लिएका कारण मूलतः एक्लै चुनाव लडेको नेकपा एमालेले सत्ताधारी मोर्चाको अपेक्षाभन्दा अधिक स्थानमा चुनाव जितेको विश्लेषण भइरहेका बेला निर्वाचन आयोगले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

‘स्वच्छ, निष्पक्ष र शान्त ढंगले कानुनी प्रक्रियाअनुसार निर्वाचन सम्पन्न गर्नु हाम्रो दायित्व हो । प्रेस र निर्वाचन आयोग एकै डुंगाका यात्री जस्तै मिलेर काम गरे, डुंगामा परेका प्वाल मिलेर थुन्न सके मात्र अपेक्षा गरेअनुसार निर्वाचन सम्पन्न हुनेछ’ –प्रमुख आयुक्त थपलियाले तोकिएको सीमाभन्दा बढी रकम निर्वाचन खर्च गरेर आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई कानुनी दायरामा ल्याएर सजाय दिलाउन सकियो भने मात्र डुंगामा परेको प्वाल टालिने आशय थियो ।

गत वैशाख महिनामा सम्पन्न स्थानीय निर्वाचनबाट पाठ सिकेर प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरूको चुनाव चिह्न मात्र मतपत्रमा राख्ने भएको छ । गएको निर्वाचनमा अनुमान गरेभन्दा अधिक परिमाणमा मतपत्र बदर भएका कारण यो अभ्यास थालिएको हो । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *