काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाल समाजवादी पार्टी (नेसपा) ले पाँचदलीय सत्ता गठबन्धनमा सामेल हुने चाहना देखाएका छन्। गठबन्धनमा सहभागी हुन आ–आफ्नै तरिकाले पहल गरिरहेका यी दुवै दल जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर बनेका हुन्।
यसैकारण पाँच दलीय गठबन्धनमा सहभागी हुन जसपा अध्यक्ष उपेन्द्र यादव बाधक हुन्छन् कि भन्ने डर लोसपा र नेसपाका नेताहरूमा छ। जसपा अध्यक्ष यादवले सार्वजनिक रूपमै लोसपासँग पार्टी एकीकरण गर्न तयार भएको प्रतिक्रिया दिएका छन्। तर नेसपाको विषयमा भने यादवले केही बोलेका छैनन्।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवासँग पटकपटक कुराकानी गरेका छन्। लोसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार स्थानीय तहको चुनावपछि देउवा र ठाकुरबीच पाँचपटक भेट भइसकेको छ। ‘पाँच दलीय गठबन्धनमा सहभागी हुने हाम्रो चाहना हो।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी हुन र सरकारमा समेत सहकार्य गर्न प्रस्ताव राख्नुभएको छ,’ झाले भने। स्रोतका अनुसार देउवा र ठाकुरबीच पटकपटकको भेटले लोसपाका नेताहरू उत्साहित भएका छन्। पछिल्लो समय लोसपाका नेताले एमाले अध्यक्ष केपी ओलीसँगको भेट पातलो बनाएका छन्।
‘पहिलेपहिले उहाँ (ओली) सँग हाम्रो भेट भएकै हो। लोसपासँग तालमेल गर्न एमालेले चाहना देखाएकै हो तर पछिल्लो समय हाम्रो भेट पातलिएको छ’, झाले भने।
लोसपा स्रोतका अनुसार सत्ता गठबन्धनमा सहभागी हुन ठाकुर सकारात्मक छन्। लोसपाले राखेका मागमध्ये केही पूरा भएको र केही पूरा हुने क्रममा रहेको नेताहरू बताउँछन्।
सरकारले सदनबाट नागरिकता विधेयक पास गराएको छ। यो विधेयक पास भएकोमा लोसपा नेताहरू खुशी छन्। स्रोतका अनुसार लोसपालाई एमालेसँगको गठबन्धनमा सहभागी हुन नदिन देउवाले प्रयास गरिरहेका छन्। एमाले र लोसपाबीच गठबन्धन भए मधेस प्रदेशमा कांग्रेसलाई नोक्सान हुने देउवाको बुझाइ छ।