प्रसिद्ध लेखक रूश्दीको भेन्टिलटरको सहयोगमा उपचार जारी

न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । उनका सहयोगीले ‘द न्युयोर्क टाइम्स’लाई दिएको जानकारीमा साहित्यकारमाथिको आक्रमण गलत भएको बताइएको छ ।

सहयोगी एन्ड्रयु वाइलीले भने, “सलमानको एउटा आँखा गुम्ने सम्भावना छ । उहाँको पाखुराका नसाहरू काटिएका छन् र उहाँको कलेजोमा छुरा प्रहारबाट क्षति पुगेको छ । रूश्दी बोल्न नसक्ने अवस्थामा उपचाररत हुनुहुन्छ ।”

सन् १९८८ मा प्रकाशित ‘द स्याटानिक भर्सेज’ नामक कृतिले मुसलमान समुदाय र प्रोफेट मोहम्मदको अपमान गरेको आरोप लगाउँदै तत्कालिन इरानी सर्वोच्च नेता आयातोल्ला रूहोल्ला खोमेनीले फतवा जारी गरी हत्या गर्ने आदेश दिएका थिए ।

निजी सुरक्षाका कारण आक्रमण हुनसक्ने त्रासका कारण वर्षौंसम्म ‘भूमिगत’ जीवन बिताउँदै आएका सलमान रूश्दी र उनका सहयोगीमाथि शुक्रबार न्युयोर्कमा आक्रमण भएको थियो ।

आक्रमण पश्चात हेलिकोप्टरमार्फत अस्पताल पुर्याइएका विश्व प्रसिद्ध साहित्यकार रूश्दीलाई अस्पताल लगी आकस्मिक शल्यक्रिया गरिएको छ । उनको उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनी अहिले बोल्न सक्ने अवस्था छैनन् र एउटा आँखाको ज्याति गुम्न पनि सक्ने देखिएको छ ।

उक्त साहित्यिक कार्यक्रममा भाग लिइरहेका अमेरिकी विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्ल लेभानले एएफपीलाई बताएअनुसार आक्रमणकारी रूश्दी बसेको मञ्चमा पुगी पटक–पटक र निर्मम तरिकाले छुरा प्रहार गरेका थिए ।

कार्यक्रममा उपस्थित एक सैनिकले आक्रमणकारीलाई पक्राउ गर्नुअघि कैयौँ मानिस दौडेर स्टेजमा पुगेर आक्रमणकारीलाई भुइँमा लडाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *