टान निर्वाचनमा १२ सयभन्दा बढी मतदाता

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनका लागि बाह्र सयभन्दा बढी मतदाता रहेका छन् । यही साउन ३० गते हुने टानको ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने मतदानका लागि एक हजार दुईसय ५० मतदाता पुुगेका हुन् ।

टान निर्वाचन कार्यक्रमअन्तर्गत आज साँझ अन्तिम मतदाता नामावली प्रकाशन गरिएको टान सचिवालयले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन भोलि साउन २६ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । उम्मेदवारको प्रथम चरणको नामावली साँझ ५ बजेसम्म प्रकाशन गरिनेछ ।

साउन २८ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको नाम उपर दाबी विरोधमा उजुरी दिन साउन २७ गते दिउँसो १२ बजेसम्म समयावधि तोकिएको छ । टान निर्वाचनमा अध्यक्ष पदका लागि तीन व्यवसायी चुनावी प्रतिस्पर्धामा छन् ।

नीलहरि बाँस्तोला, कमल सापकोटा र बोधराज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा एमाले निकट पर्यटन व्यवसायी सङ्गठन र नेकपा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी सहकार्य गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) निकट व्यवसायी सापकोटा र स्वतन्त्र उम्मेदवारका रुपमा भण्डारीको प्रतिस्पर्धा हुनेछ ।

टानका पूर्वअध्यक्ष दीपक महतले सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ गतिदिने नेतृत्व टान निर्वाचनबाट चयन हुनुुपर्ने बताए । उनले टानलाई व्यवसायमैत्री बनाएर सेवालाई चुुस्तदुरुस्त बनाइनुपर्ने खाँचो औँल्याए । टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् ।

जसमध्ये वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा नौ जना (महिला एक जना र खुल्ला सदस्य आठ जना) सदस्य रहेका छन् । टानको २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा एक हजार आठसय ५० हाराहारी व्यवसायी आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *