अन्ततः कांग्रेसकै शरणमा

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलले स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेका थिए । चुनावी परिणाम सार्वजनिक भएलगत्तै सहमति अनुसार सहयोग नभएको भन्दै चार दल कांग्रेसमाथि खनिए । उनीहरुले तालमेलमा कांग्रेस इमान्दार नभएको भन्दै आक्रोश पोखे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त दम्भ नदेखाउन भन्दै चेतावनी दिए । स्थानीय तह निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजित प्रशिक्षणमा प्रचण्डले भने, ‘हामीलाई मानिसहरूले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन् । माओवादी आफैँ त केही गर्दैन, कहिले एमालेलाई ठूलो बनाउँछ । कहिले कांग्रेसलाई ठूलो बनाउँछ । कहिले एमालेको दम्भ बढाइदिन्छ । कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ । एमालेमा जस्तै अहिले कांग्रेसको फेरि दम्भ र अहंकार बढ्छ कि भन्ने डर पैदा भएको छ । माओवादी केही नि होइन अब स्थानीय तहमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने एमालेलाई ठेगान लगाएजस्तै फेरि कांग्रेसलाई लगाउने दिन नआओस् ।’

निर्वाचन परिणामलाई लिएर एकीकृत समाजवादीका नेताहरु त्यस्तै आक्रोसित भए । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त अब कांगेससँग लागेर हुँदैन, वामपन्थीहरुको मोर्चा बनाउने विषय उठाए । त्यस्तै अध्यक्ष माधवकुमार नेपालले पनि तालमेल गर्दा आफूहरुलाई हेपेको र तालमेल गर्दा घाटा लागेको बताए । नेपालले त नेता कार्यकर्तालाई आफ्नै बलमा चुनाव लड्नुपर्छ भन्दै त्यसको तयारीमा लाग्न निर्देशन दिँदै आएका थिए । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी पनि कांग्रेससँग रिसाए । यी नेताहरुका अभिव्यक्ति सुन्दा लाग्थ्यो कि आगामी निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदैन ।

विगतमा जति ठूला कुरा र खरो अभिव्यक्ति दिएपनि आगामी मंसिर चारको चुनावको मिति घोषणा गरेको भोलिपल्टै पाँच दलले फेरि चुनावी तालमेल गरेर जाने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उनीहरुले चुनावी तालेमेलको मोडालिटी बनाउन ११ सदस्यीय कार्यदलसमेत गठन गरेका छन् । कार्यदललाई साउन मसान्तसम्म मोडालिटी बनाउने समय दिइएको छ । कार्यदलको सुझावका आधारमा भदौ पहिलो सातासम्म सिट बाँडफाँट गर्ने तयारी गठबन्धनको छ ।
स्थानीय तह निर्वाचनको मतपरिणामपछि वाम मोर्चाको विषय उठाएका एकीकृत समाजवादीका सम्मानित नेता खनालले मंगलबार प्रधानमन्त्रीसँग भेट गरी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने माग गरेका छन् खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनका आधारमा सिट बाँडफाँट गर्न आवश्यक रहेको बताए । उनले तत्काल कुनैपनि वृहत वाम एकताको सम्भावना नरहेको पनि बताए ।

एकीकृत समाजवादीका अर्का नेता सोमप्रसाद पाण्डेले त पार्टीका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको मूल्यांकन गरेर मात्रै आगामी निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने प्रस्ताव राखेका छन् । उनी एकीकृत समाजवादीले सहयोग नगरेको खण्डमा देउवा प्रधानमन्त्री बन्न नसक्ने स्थिति रहेको भन्दै सबैलाई सबै क्षेत्रको भूमिकाको कदर गरेर सिट बाँडफाँट हुनुपर्ने बताउँछन् ।

विगतमा जसपामा रहेका डा. बाबुराम भट्टराईले त अहिले नयाँ दल नेपाल समाजवादी पार्टी खोलेका छन् । उनले पनि प्रधानमन्त्री देउवासँग भेट गरी गठबन्धनमा सहभागी गराउन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवासँगको भेटमा भट्टराईले वर्तमान गठबन्धन निर्माणका लागि आफूहरुको सुरुदेखिनै योगदान रहेको भन्दै त्यसलाई नभूल्न आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टी(नेसपा)को पहिलो औपचारिक भेट र समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनवारे सार्थक छलफल ! वर्तमान गठबन्धन निर्माणमा शुरूदेखि नै नेसपा नेताहरूको महत्वपूर्ण योगदान रहेको तथ्यलाई गठबन्धन दल/नेताहरूले नभुल्ने अपेक्षा !’

वाम मोर्चा बनाउनुपर्छ भन्ने झलनाथको प्रस्ताव खै कहाँ पुग्यो त ? एक्लै चुनाव लड्ने माधव नेपालको हुँकार कता हरायो त ? यदि साँच्चै थियो भने फेरि किन तालमेलमा हस्ताक्षर ? यी त सब कांग्रेससँग सिट बढी खोज्नका लागि थियो भन्ने त स्पष्ट भएको छ । नत्र चुनाव घोषणा भएलगत्तै प्रधानमन्त्री देउवालाई हामीलाई बढी सिट दिनुपर्यो भन्न सुरु भएबाटै बुझ्न सकिन्छ ।

प्रचण्ड त अहिले जापान भ्रमणमा छन् । तर उनी सिट बाँडफाँटमा कांग्रेसको बहुमत आउन नदिने मोडालिटीमा हुनुपर्नेमा स्पष्ट छन् । उनले यो कुरा आफ्ना पार्टीका नेताहरुलाई भनिसकेका छन् । कांग्रेसलाई एमालेको हालत बनाइदिन्छु भन्ने उनको अभिव्यक्ति पनि सिट बढी लिनकै लागि हो । एक्लै चुनावमा जानका लागि थिएन ।

यी सबैको हालत नेपाली कांग्रेसले पनि बुझेको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई सिट बाँडफाँटको बारेमा सुझाव दिन सोमबार प्रधानमन्त्री देउवाले बैठक आयोजना गरेका थिए । बैठकमा उनीहरुले कम्तिमा एकसय सिट राखेर बाँकी सिट बाँडफाँट गर्न सुझाव दिएका छन् । केही नेताले त १०६ सिट कांग्रेसले राख्नुपर्ने सुझाव समेत दिएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सिट बाँडफाँटको काम सजिलो भने छैन । २०७४ मा एमालेसँग गठबन्धन गरेर प्रतिनिधिसभामा तेस्रो दल बनेको नेकपा माओवादी केन्द्र अहिले कांग्रेससँग गठबन्धन बनाएर दोस्रो दल र यदि त्यो नभए पनि सरकार निर्माणको चाबी आफ्नो हातमा लिने दाउमा छ । कांग्रेस भने सकेसम्म एकल बहुमतको सरकार त्यो नभए माओवादीको भर नपरी सरकार निर्माणको रणनीतिमा छ । देउवा पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा जोड्न खोजिरहेका छन् । किनकी प्रचण्डले जुनसुकै बेला जेपनि गर्न सक्ने आशंकामा कांग्रेस एकल बहुमत नआए माओवादी बाहेकको सरकार बनाउनुपर्छ भन्ने रणनीतिमा लागेको कांग्रेसकै नेताहरुले बताउन थालेका छन् ।

हाल प्रतिनिधिसभा २७५ सदस्यीय छ । त्यसमध्ये प्रत्यक्ष निर्वाचन हुने १६५ सिट हो । अहिले दलहरू १६५ सिटमै भागबण्डा गर्ने तयारीमा छन् । त्यसमध्ये ६० प्रतिशत सिट अर्थात् १०० सिटमा कांग्रेसको दाबी छ । तर कांग्रेस अन्तिमसम्म कम्तिमा ९० सिट मान्न सक्ने बताइएको छ । प्रत्यक्षतर्फका १ सय ६५ सिटमध्ये ९० सिटमा नेपाली कांग्रेसले चुनाव जित्यो भने एक्लै बहुमत ल्याउने सम्भावना हुन्छ । त्यसैले नेपाली कांग्रेसलाई ९० भन्दा बढी सिट दिँदै नदिने रणनीति माओवादी लगायत अन्य पार्टीको रहेको बताइन्छ ।

यदि कांग्रेसले मानेन भने के गठबन्धनको तालमेल भाँडिन्छ त ? पक्कै भाँडिदैन । किनकी अब कांग्रेसको साथ नलागे ती दलका शीर्ष नेताहरुको जित सुनिश्चित छैन । त्यसैले जति ठूला भाषण गरेपनि अन्तमा कांग्रेसकै शरणमा हो । अरु त सब भन्ने कुरा मात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *