एजेन्सी । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको पहिलो खेलमै पराजित भएको छ । आइतबार बेलुकी घरेलु मैदानमा भएको आफ्नो पहिलो खेलमा युनाइटेड ब्रिघटनसँग २-१ गोलले पराजित भएको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा ब्रिघटनलाई जीत दिलाउन पास्कल ग्रसले दुई गोल गरे । युनाइटेडले एक गोल उपहार पाएको हो । पहिलो हाफको १० मिनेटको अन्तरालमा ब्रिघटनले दुई गोल गर्दै खेलमा आफ्नो पकड जमाएको हो । ३० औं मिनेटमा वेलब्याकको पासमा ग्रसले गोल गर्दै ब्रिघटनलाई शुरुवाती अग्रता दिलाएका थिए ।
३९ औं मिनेटमा ग्रसले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए । ६८ औं मिनरमा म्याक अल्लिस्टरले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा फर्किने लक्षण देखाएको थियो । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड लिगको पहिलो खेलमै २-१ गोलले पराजित भयो ।
जीतसँगै ब्रिघटन ३ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ । यता युनाइटेडका डच प्रशिक्षक इरिक टेन हागले सिजनको पहिलो खेलमै हार चाखेका छन् ।