कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

काठमाडौ । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिहंले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना देखाए ।

नेता सिंहसहित कांग्रेस नेताहरू मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन नभएर प्रधानमन्त्रीकै चुनावको मिति घोषणा भएजस्तो गर्दै एकपछि अर्को प्रधानमन्त्रीका आकांक्षी देखिन थालेका छन्।

प्रधानमन्त्रीको आकांक्षीका रूपमा देखिनेमा कांग्रेस महामन्त्री गगनकुमार थापा पनि छन्। थापाले पार्टीका पहिलो तहका नेताले आगामी निर्वाचनमा बिदा लिएर सरकार र पार्टी नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन्।

२०६४ सालको संविधानसभा निर्वाचनपछि काठमाडौं र पछि काठमाडौं–४ का जनप्रतिनिधिका रूपमा काम गरेका थापाले आगामी निर्वाचनपछि प्रधानमन्त्रीका लागि आँट गर्ने बताउँदै पार्टीभित्र छलफल भइरहेको दाबी गरे।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्री बनाउन आफू प्रस्तावक बन्ने सार्वजनिक अभिव्यक्ति दिएका छन्।

त्यसो त प्रधानमन्त्री बन्न वा प्रस्तावक, समर्थक बस्न प्रतिनिधिसभा सदस्य भएर मात्र पनि पुग्दैन। पार्टीभित्र संसदीय दलको नेतामा निर्वाचित हुनुपर्ने त छ नै, साथै संविधानको धारा ७६ ९१० अनुसार सरकार गठनका लागि पार्टीले बहुमत ल्याउनुपर्छ, होइन भने ७६ (२) अनुसारको सरकार गठनका लागि संसद्मा रहेका दलको पनि विश्वास जित्नुपर्ने हुन्छ। यी नेताद्वय सिंह र थापा मात्र होइन, प्रधानमन्त्रीको लाइनमा नेता रामचन्द्र पौडेल पनि छन्।

छाया सभापतिकै भूमिकामा रहेका उपसभापति पूर्णबहादुर खड्का पनि आगामी निर्वाचनपछि शेरबहादुर देउवाको स्थान आफू लिने रणनीतिमा छन्। पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र कृष्णप्रसाद सिटौला पनि मौका पर्दा आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने पक्षमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *