फराकिलो जीतसँगै बायर्नको उत्कृष्ट शुरुवात

एजेन्सी । साविक विजेता बायर्न म्युनिखले जर्मन लिग बुन्डेसलिगामा उत्कृष्ट शुरुवात गरेको छ । गएराति भएको लिगको पहिलो खेलमा फ्रान्कफुर्टलाई ६-१ गोलले पराजित गर्दै बायर्नले सिजनको उत्कृष्ट शुरुवात गरेको हो ।

डेउट्स्चे बैंक पार्कमा भएको खेलमा बायर्नलाई जीत दिलाउन जमल मुसिएलाले दुई गोल गर्दा जोशा किमिच, बेन्जामिन पभार्ड, साडियो माने र सेर्जे ग्नाब्रीले समान एक/एक गोल गरे । फ्रान्कफुर्टको लागि रान्डल कोलो मुअनीले सान्तवना गोल गरे । बायर्नले पहिलो हाफमा ५ र दोस्रो हाफमा एक गोल गरेको हो । खेलको पाँचौ मिनेटमा किमिचले फ्रि-किकमा गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए । ११ औं मिनेटमा पभार्डले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

२९ औं मिनेटमा ग्नाब्रीको क्रसमा मानेले गोल गर्दै बायर्नलाई सहज जीततर्फ अगाडि बढाए । ३५ औं मिनेटमा मुलरको पासमा मुसिएलाले गोल गर्दै बायर्नलाई ४-० गोलको अग्रता दिलाए । ४३ औं मिनेटमा मुलरकै पासमा ग्नाब्रीले गोल गर्दा पाहुना टोलीले पहिलो हाफमा ५-० गोलको अग्रता लिएको थियो ।

६४ औं मिनेटमा मुअनीले गरेको गोल फ्रान्कफुर्टको लागि सान्तवनामा सावित भयो । यस्तै ८३ औं मिनेटमा सानेको पासमा मुसिएलाले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ६-१ गोलको जीत दिलाए ।

जीतसँगै बायर्नले ३ अंक जोडेको छ भने पराजित फ्रान्कफुर्ट अंकविहिन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *