कोसीले धार परिवर्तन गर्दा २० हजार मानिस विस्थापित

काठमाडौं । सप्तकोसी नदी पश्चिमतर्फ धार परिवर्तन गरी मानवबस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिकाका २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। झन्डै साढे तीन दशकपछि सप्तकोसीले पुरानै धारमा फर्किएर बेलकाको मानवबस्ती तहसनहस पारेको हो। सप्तकोसीको बाढी बुधबार बिहान ४ बजे बेलका–१, २, ३, ८ र ९ वडामा पसेको थियो।

‘कोसीले केही दिनदेखि कटान गरिरहे पनि सरकारले बेलैमा सक्रियता नदेखाउँदा यस्तो अवस्था आयो,’ बेलका–३ का बासिन्दा अरीलाल उरावले भने। अहिले बाँध भत्काएर कोसी पसेको मानवबस्तीमा २०४५ सालअघि पनि कोसी नै बग्थ्यो। २०४५ सालको भूकम्पपछि बिस्तारै धार परिवर्तन गरी कोसी पूर्वतर्फ हानिएको थियो। नदीले छाडेको भागमा २०५१ सालदेखि घर बनाएर मानिस बस्न थालेका थिए।

‘यस्तो विपत्ति आउला भनेर सोचिएन,’ बेलका–३ का अर्का बासिन्दा किसन राईले भने, ‘२०४० सालअघि पनि अहिलेकै बस्तीमा कोसीले पीडा दिएको थियो। पछि कोसी पूर्वतिर हानिएपछि शान्त होला भन्ने सोचेका थियौं तर यसको भर हुँदो रहेनछ।’

घर बनाएर बसेयता वर्षयाममा बर्सेनि त्रास सिर्जना हुने गरे पनि कोसीले बस्तीमै पसेर तहसनहस गर्ला भन्ने नसोचेको बेलकाका बासिन्दाले बताए। दुई दिनअघिदेखि निरन्तर कटान गरेको स्थानमा स्थानीय स्तरबाट रोकथामको कामसमेत भइरहेको थियो।

तर बेलका–८, डुम्रीबोटेनजिकैबाट कटान गरेर बस्तीमा पसेको कोसीको भँगालोले त्यहाँका धेरैको जायजेथा नष्ट पारेको छ। ‘अन्नपात सबै नदीले बगायो, धन्न ज्यानचाहिँ बचाइयो,’ बेलका–३ की चन्द्रकला मगरले भनिन्, ‘एकपटक बाँध भत्काएर धार परिवर्तन गरेको सप्तकोसीले कुनै पनि बेला विनाशलीला मच्चाउन सक्दो रहेछ।’ कोसीमा पानीको बहाव असामान्य हुनेबित्तिकै खतरा हुने गरेकाले सुरक्षित रहन पूर्वतयारी गर्नैपर्ने हुन्छ।

पछिल्लो समय नदीले दुई दिनदेखि निरन्तर कटान गरेकाले स्थानीय त्रसित थिए। एक वर्षअघि संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको टोलीले बुधबार सप्तकोसीले फुटाएको बाँधको स्थलगत निरीक्षण गरेको थियो। त्यतिबेला त्यसलाई गम्भीर चासोका रूपमा लिइएन।

यसपालि सप्तकोसीले धार परिवर्तन गरेसँगै उदयपुरको बेलकाका पाँचवटा वडाका बासिन्दाले ठुलो विपत्तिको सामना गर्नुपर्‍यो। बेलकाबाहेक सप्तरीका दुई नगरपालिका सप्तकोसी र कञ्चनरूपमा पनि कोसीले असर पारेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ का बासिन्दालाई पनि कोसीले पिरोलेको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *