बर्दिया, साउन १८। बर्दिया जिल्लाबाट नेकपा माओवादी केन्द्र प्रदेश कमिटीमा रहेका निवर्तमान नगर प्रमुख तथा उपप्रमुखहरु एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार राजापुरमा आयोजित कार्यक्रममा बर्दिया जिल्लाको राजापुर नगरपालिकाका निवर्तमान मेयर शिव प्रसाद थारु र मधुवन नगरपालिकाकी उपप्रमुख शुभरानी थारु नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरु दुवै माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि हुन् ।
त्यसैगरी माओवादी केन्द्रकै लुम्बिनी प्रदेश कमिटी सदस्य शान्ती चौधरी, सुरेश भुल, राम बहादुर थारु एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र जिल्ला कमिटि र नगर कमिटिमा रहेका राजापुर, मधुवन र ठाकुरबाबा नगरपालिकाबाट गरी करिव एक सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव शंकर पोख्रेलले राष्ट्र र राष्ट्रिय स्वाधिनताको पक्षमा उभिने एउटा मात्रै नेकपा एमाले पार्टी भएको बताए ।