कानुन निर्माणले लियो गति, राष्ट्रपतिबाट एकैपटक १३ विधेयक प्रमाणीकरण

काठमाडौं। लामो समयदेखि अवरुद्ध विधायिकी प्रक्रियालाई सङ्घीय संसद्को चालू बजेट अधिवेशनले गति दिएको छ। सामान्यतः बजेट अधिवेशनमा विधेयक प्राथमिकतामा नपर्ने भए पनि यस पटक सङ्घीय संसद्का दुवै सदनबाट १९ वटा विधेयक पारित भइसकेका छन् भने अन्य केही पारितको चरणमा छन्।

सङ्घीय संसद्को चालू अधिवेशन प्रारम्भ हुँदा ५५ विधेयक विचाराधीन थिए। अधिवेशन प्रारम्भ भएपछि सरकारले अध्यादेश प्रतिस्थापन विधेयक पनि ल्याएको थियो। यौनजन्य हिंसा तथा संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि यस अवधिमा ल्याइएका थिए।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग विधेयक पनि दर्ता भएको छ। तर संवैधानिक परिषद् र बेपत्तासम्बन्धी विधेयकको प्रक्रिया अघि बढाइको छैन।

चालू अधिवेशनबाट बजेटसँग सम्बन्धितसमेत १९ विधेयक पारित भएका हुन्। जसमध्ये पाँच विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका छन्। अन्य विधेयक प्रतिनिधि सभामा उत्पत्ति भएका हुन्।

चालू अधिवेशनबाट पारित भएका १३ विधेयक राष्ट्रपतिबाट एकैपटक प्रमाणीकरणसमेत भइसकेका छन्। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *