१७७ मुलुकसँग दौत्य सम्बन्ध

काठमाडौं । विश्वका १९५ मुलुकमध्ये १७७ मुलुकसँग नेपालको दौत्य सम्बन्ध कायम भएको छ तर त्यो दौत्य सम्बन्धको मियोका रूपमा काम गर्ने दूतावासको विस्तार, तिनको सक्रियता र प्रभावकारिता भने कमजोर देखिएको छ।

छिमेकी मुलुक, प्रमुख शक्ति राष्ट्र मुलुक, दक्षिण एसियाली मुलुक, विकास साझेदारलगायत सबै राष्ट्रसँग नेपालको मैत्रीपूर्ण सम्बन्ध भन्ने नेपालको परराष्ट्र नीतिको मूल मर्मअनुसार दौत्य सम्बन्ध विस्तारमा सरकारको ध्यान केन्द्रित छ।

सोहीअनुरूप सबैभन्दा पुरानो मित्र बेलायतदेखि नयाँ मित्रराष्ट्र मुलुक ट्रिनिडाड एन्ड टोबागोसम्म आइपुग्दा १७७ मुलुकमा सम्बन्ध विस्तार भएको हो। सन् २०१५ यता भूकम्प, कोभिड–१९ महामारीलगायतका समस्याकाबीच पनि सात वर्षमा ३६ वटा नयाँ मुलुकसँग मित्रता गाँसिएको छ।

मित्रता विस्तारको तुलनामा परराष्ट्र मन्त्रालयले जम्मा ३० वटा देशमा मात्र नेपालका राजदूतावास कायम गर्न सकेको छ। एउटै राजदूतले पाँचवटासम्म देश हेर्नुपर्ने दयनीय अवस्था छ। तिनमा पनि सबै दूतावासमा राजदूत पठाइसकेको अवस्था छैन।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार पछिल्लो समय खाली रहेका २० दूतावासमा जाने राजदूतमध्ये १६ जनाको मात्र एग्रिमो आएको छ। अन्य चार मुलुकबाट एग्रिमो आउन बाँकी छ। हालसम्म २० जनामध्ये चार जना मात्र कार्यभार सम्हाल्न छिमेकी मुलुक पुगेका छन् ।

तीन जनाको नियुक्ति प्रक्रियामा छ। यस्तो ढिलाइले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमै असर पुग्ने गरेको छ। दूतावास भएका मुलुकले पनि सशक्त रूपमा देशको हितमा काम गरेर लाभ भित्र्याउन नसकेको गुनासो कूटनीतिक वृत्तमा बढी छ। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *