प्रचण्डको भारत भ्रमण र नागरिकता विधेयक

काठमाडौं । असार अन्तिम साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्कासी भारत भ्रमणमा गए । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड भारत भ्रमणमा गएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ जियानछाओ सहितको प्रतिनिधिमण्डलको नेपाल भ्रमण लगत्तै प्रचण्ड भारत भ्रमणमा गएका हुन् । भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने भनिएपनि प्रचण्ड र मोदीबीच भेट भने भएन । तर भारत भ्रमणबाट फर्किएपछि प्रचण्डले भ्रमण सोचे भन्दा सफल भएको प्रतिक्रिया दिएका थिए । त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले मोदीजीसँग भेट नभएपनि टेन्सन नभएको र भ्रमणबाट उत्साही भएको बताएका थिए । प्रचण्ड भारत भ्रमणबाट पर्किएलगत्तै संसदमा नागरिकता विधेयक पेश भयो र अहिले प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित पनि भइसकेको छ ।

वैवाहिक अंगीकृत नागरिकताको प्रावधान संशोधन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र केही साना दलले माग गरेका थिए । उनीहरुको माग वैवाहिक अंगीकृत नागरिकता दिँदा सातवर्षको प्रावधान राख्नुपर्ने माग थियो । तर उनीहरुको मागलाई बेवास्ता गर्दै विधेयक पास गरियो । प्रतिनिधिसभाबाट हतार हतार प्रक्रियासमेत छोट्टयाएर विधेयक पास गरियो ।
दुईवर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लगेर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्यो र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाई ’हुन्छ र हुन्न’ भन्दै पास गर्नु आपत्तिजनक हो ।

तर यस विषयलाई प्रचण्डको भारत भ्रमणसँग जोडेरसमेत हेरिएको छ । नेकपा एमालेले प्रचण्डले भारतको आशिर्वाद लिएर आएर नागरिकता विधेयक पास गरेको बताएको छ । हाम्रो चेली भारतमा विवाह गरेर जाँदा नागरिकता लिन सातवर्ष कुर्नुपर्ने हुन्छ । तर हाम्रोमा चाहिँ विवाह गरेर आएको भोलिपल्टै नागरिकता पाउने प्रावधान विधेयकमा छ ।
विधेयक अब राष्ट्रियसभामा पेश भइसकेको छ । राष्ट्रियसभाको बैठकमा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले वैवाहिक अंगीकृत नागरिकताको लागि ७ वर्षे प्रावधान हटाउनुपर्ने कुनै कारण नभएको भन्दै आपत्ति जनाए । उनले भने,‘७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता महिलालाई दिने प्रावधान थियो, त्यो हटाउनुपर्ने कुनै कारण थिएन । त्यसमा पनि विचार पुर्याइएन भन्ने मेरो ठहर छ । नेपाली नागरिकले विदेशी नागरिक पुरुषसँग विवाह गरेको अवस्थामा कुनै प्रावधान नै नराख्ने । यहाँ नागरिकता लिन खोज्यो भने मापदण्ड हुनसक्ला तर प्रावधान नै नराख्ने कुरा महिलामाथि ठूलो अन्याय हो यो । त्यसकारणले यस बारेमा पनि प्रावधान खोल्नुपर्छ ।’

अर्का सांसद वामदेव गौतमले पनि वैवाहिक अंगीकृत नागरिकता लिनु पहिले आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने सुझाव दिएका छन् । उनी भन्छन्,‘हाम्रो देशमा वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा अहिले जे व्यवस्था आएको छ, त्यो व्यवस्था थोरै केही कुराहरु सच्याउनु पर्छ । सच्याउनु भनेर भनेको उनले नागरिकता परित्याग गर्नको निम्ति प्रक्रिया शुरु गरेको सम्बन्धित निकायबाट, भारतको सम्बन्धित निकायबाट कुनै प्रमाण–पत्र लिएर आउनुपर्छ । मैले त्यो प्रक्रिया शुरु गरेको छु भनेर भन्ने मात्रै होइन, उसले प्रक्रिया शुरु गरोस् ।’

यदि राष्ट्रियसभाले विधेयक पास गरेमा यो कानुन बन्ने छ । सावर्षे प्रावधान राख्नका लागि राष्ट्रियसभाले यो विधेयक संशोधनका लागि फेरि प्रतिनिधिसभामा फिर्ता गर्नुपर्ने हुन्छ । अब राष्ट्रियसभामा विधेयकमा संशोधन प्रस्ताव हाल्नलाई समय दिइएको छ । राष्ट्रियसभाको अर्को बैठक साउन १२ गतेका लागि बोलाइएको छ । तर राष्ट्रियसभामाले विधेयक फिर्ता गर्ने सम्भावना भने कम छ । किनकी राष्ट्रियसभामा गठबन्धनको बहुमत छ । तर यो राष्ट्रिय रुपमा चासोको विषय हो । हिजो माओवादी सत्ताबाहिर हुँदा ऊ नागरिकताको यो विषयको विपक्षमा थियो । तर अहिले सत्तामा आएपछि उसले त्यही विषयमा पारित गराउन भूमिका खेल्यो । अझ यसमा प्रचण्डले भारतलाई खुसी पार्न यसो गरे भन्ने आरोप पनि लागेको छ । त्यो विषय पछि खुल्दै जाला ।

नागरिकता विधेयक पारित गरिएको भन्दै सोमबार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी नै भयो । केही युवाले राष्ट्रिय एकताको रक्षा गरौं, स्वाधिनताको रक्षा गरौं, नागरिकता विधेयक खारेज गर भन्दै नारा लगाएका थिए । नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्ने कुरामा कसैको दुईमत छैन । तर अंगीकृत नागरिकताका लागि सात वर्षे प्रावधान राख्दा छिमेकी रिसाउँछन् भनेर उनीहरुलाई प्रावधान नै नराख्ने भन्ने विषय चाहिँ बेइमानी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *