भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको हो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल बनाई छाड्ने बताएका छन् । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको बताए ।

उनले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरुले देखाएको बाटोबाट विचलित नहुने प्रण गरे । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजाने बताए ।

उनले भने,‘ पुष्पलाले स्थापना गर्नुभएको नेकपा एमाले यो ठाउँमा छ । म यस पार्टीको अध्यक्ष भएको हैसियतमा भन्न चाहन्छु, पुष्पलाल र अरु अग्रजहरुले देखाएको बाटोबाट अलिकति पनि विचलित हुनेछैन । नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने, फेरि आज संकल्प दोहार्याएको छु ।’

अध्यक्ष ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन नसकेको आरोप लगाए । उनले भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताए ।

अध्यक्ष ओलीले नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइएपनि काँग्रेसले एउटा विज्ञप्तिसमेत निकाल्न नसकेको बताए । उनले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि काँग्रेसले आफ्नै अग्रजहरुको सम्मान गर्न नसकेको आरोप लगाए ।

उनले भने,‘काँग्रेस धेरै पटक सत्तामा आयो । भीमदत्त पन्तलाई त उसले शहीद मानेन नै । किनभने उसैले टाउको कटाएको थियो । भीमदत्त पन्तलाई काँग्रेसका सभापति मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०१० सालमा टाउको काटेर झुन्ड्याइएको थियो । त्यसकारण काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा सिरिङ्ग हुन्छ । विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा सिरिङ्ग हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *