गत साता कोरोनाबाट मृत्यु भएका दुई पुरुष एक डोज पनि खोप नलिएकाहरु

काठमाडौं । गत साता कोरोना संक्रमणबाट मृत्यु भएका दुई पुरुषले एक डोज पनि खोप नलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार मृत्यु हुनेमा जनकपुरका ५६ वर्षीय र सिन्धुलीका ५७ वर्षीय पुरुष छन्। दुवैले कोरोनाविरुद्धको खोप नलिएको जानकारी स्थानीय तहले गराएको मन्त्रालयको भनाइ छ। धेरैले सामान्य मानिरहेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले मृत्युको मुखमा पुर्‍याउनुको खास कारण खोप नलिनु नै रहेको सहप्रवक्ता अधिकारीको दाबी छ।

‘अन्य रोग पनि हुन सक्छ तर खोप लिएको भए मृत्यु हुने स्थिति आउने थिएन,’ उनले भने। ओमिक्रोन भेरियन्टले खोप लिएका पनि संक्रमित हुन सक्ने र नलिएकालाई त यसले झनै जटिल अवस्थामा पुर्‍याउने भएकाले दुवै समूह सचेत हुनुपर्ने अधिकारीले बताए। खोप नलिएका मानिसलाई समयमै खोप लिन उनले सुझाए।

‘जसले एक डोज पनि खोप लिनुभएको छैन, सक्दो छिटो खोप लिनुपर्‍यो,’ उनले भने। नेपालमा कतिजनाले एक डोज पनि खोप लिएका छैनन् भन्ने विषयमा कुनै यकिन तथ्यांक छैन। एकातिर स्थानीय निकायले सबैले खोप लिइसकेको विवरण दिने गरेका छन् भने अर्कातिर कतिपयले एक डोज पनि खोप नलिएको स्थिति रहेको देखिएको चिकित्सकहरूको अनुभव छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा शेरबहादुर पुन कतिपयले गलत रूपमा प्रकाशित समाचारलाई आधार बनाएर खोप नलिँदा संक्रमणको पीडा खेपिरहनुपरेको बताउँछन्।

खोप लिएर स्वास्थ्यमा कुनै पनि असर गरेको नपाइएकाले भ्रममा नपरी छुटेकालाई लगाउन पुनले सुझाए। परिवार कल्याण महाशाखाका अनुसार नेपालमा लक्षित जनसंख्याको ८८.३ प्रतिशतले एक मात्रा खोप लिएका छन् भने ८७.९ प्रतिशतले पूर्ण मात्रा खोप लिएका छन्। यो हिसाबले ११.७ प्रतिशत लक्षित जनसंख्याले एक मात्रा पनि खोप लिएको देखिँदैन। यसको अर्थ २७ लाख ४० हजार ५ सय ७८ जनाले एक मात्रा पनि खोप लगाएका छैनन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *