यस्तो अवस्थामा आउनसक्छ सत्ता गठबन्धनमा फुट

काठमाडौं । निर्वाचन आयोगले दुईसाता अघि सरकारलाई मंसिर दुईमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सुझाव दिएको थियो । आयोगको सुझाव अनुसार मंसिर दुईमा निर्वाचन गर्न सत्ता गठबन्धनभित्र सहमति भइसकेको छ । केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने तयारी छ । तर गठबन्धनका दलहरुबीच निर्वाचनको मिति घोषणा अघिनै सिट बाँडफाँटमा सहमति गर्ने तयारी भएको बताइएको छ । औपचारिक रुपमा गठबन्धनबीच सिट बाँडफाँटमा छलफल नभएपनि फरक फरक प्रस्ताव शीर्ष नेताहरुले अघि सारेका छन् ।

कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी सिट बाँडफाँटको प्रस्ताव गरेको छ । एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले ९५ सिट राखेर बाँकी ७० सिट गठबन्धनका अन्य दललाई दिने प्रस्ताव कांग्रेसको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेतासँग सिट बाँडफाँटबारे आफ्नो प्रस्ताव राखिसकेका छन् । तर, माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने अडान राखेका बताइएको छ । मधेस प्रदेशमा जसपाले धेरै स्थानमा दाबी गरेको छ । देशभरकै कुरा गर्दा एकीकृत समाजवादीको पनि उस्तै दाबी छ । गठबन्धनमा जाँदा आफ्ना निकटका नेताहरुले नै टिकट नपाउने अवस्था देखिएपछि सभापति देउवा पनि निकै अप्ठेरोमा छन् ।

प्रतिनिधिसभाको कुल सिट संख्या २ सय ७५ हो । स्पष्ट बहुमत ल्याउनका लागि १ सय ३८ सिट आवश्यक पर्छ । नेपाली कांग्रेसले समानुपातिक तर्फ विगतको अप्ठेरो परिस्थितिमा समेत १ सय १० मध्ये ४० सिट हासिल गरेको थियो । समानुपातिकमा ४५ सिट हासिल गरेपछि बहुमत पुर्याउन प्रत्यक्ष तर्फ कम्तिमा पनि ९२ सिट जित्नु पर्ने हुन्छ । तर नेपाली कांग्रेसले ९२ सिटमा उम्मेदरवार उठाएन भने आगामी निर्वाचनले बहुमतको सरकार दिँदैन भन्ने कुरा चुनाव अघि नै प्रष्ट हुन्छ । बहुमतको सरकार दिने एजेण्डा नबोकोको कांग्रेसलाई किन मत हाल्ने ? भन्ने प्रश्न पनि उठ्न सक्छ ।

कांग्रेसको प्रस्तावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमाले बाहेकका अरु कम्युनिष्ट पार्टीहरुलाई एउटै झण्डा तथा एउटै चुनाव चिन्ह मुनी ल्याएर छुट्टै गठबन्धनका लागि छलफल अघि बढाएका छन् । वामदेव गौतमदेखि बाबुराम भट्टराईसम्म र माधवकुमार नेपालदेखि चित्रबहादुर केसीसम्मका नेताहरु यो अभियानमा सरिक भएका छन् ।

गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँटमा कुरा मिल्न भने कठिन छ । कांग्रेसले आफ्नो बहुमतको संभावना मर्ने गरी सिट बाँडफाँट गर्न नमान्दा स्थिति फरक हुनसक्छ । कांग्रेसले बहुमत हासिल गर्ने संभावना जिवित रहने गरी सिटबाँडफाँट गर्दा चलखेल गर्न नपाउने कुरा प्रचण्डले देखेका छन् । किनकी माओवादीले कुनै पनि पार्टीको बहुमत नआएको अवस्थामा मात्रै सरकार ढाल्ने र बनाउने खेल खेल्न पाउँछ । आफ्नो पार्टीले जसलाई साथ दियो, उसैको बहुमत पुग्ने गरी सिटबाँडफाँट गर्ने रणनीति प्रचण्डको छ । त्यसमा कांग्रेस चनाखो छ ।

कम्युनिष्ट पार्टीहरुको एकीकरण अभियानमा नेकपा एमालेलाई समेत सामेल गराउनु पर्ने मत माओवादी केन्द्र भित्रकै नारायणकाजी श्रेष्ठ समूहले राख्दै आएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एमालेसहितको कम्युनिष्ट एकाताको विषय उठाइरहेका छन् ।

तर नेकपा एमाले यसमा विश्वस्त छैन । बुधबार आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आफैं फुट आउने बताएका छन् । तत्कालीन नेकपामा रहेका बहुमत सचिवालय सदस्यहरूको छलफलप्रति लक्षित गर्दै ओलीले जुट्नका लागि नभएर फुट्नकै लागि अभियान चलाइएको जिकिर गरे । उनले भने, ‘आज सञ्चारमाध्यममा सुुन्नुभो होला एकताको अभियान । अर्को फुटका लागि फेरि एकता अभियान सुरु भो । जुट्नका लागि होइन ।’

माधव नेपाल पनि स्थानीय तहको निर्वाचनमा गठबन्धनले धोका दिएको बताउँदै आएका छन् । नेपाल गठबन्धनको गीत गाएर आफ्नो तयारी पूरा गर्न नसक्दा चुनावमा पराजित हुनु परेको बताउँछन् । उनी भन्छन्, ’धेरै ठाउँमा जित नभएता पनि आफ्नो पार्टीको चिह्नको प्रचार हुन्थ्यो । पार्टीको प्रचारप्रसार हुन सकेको भए आगामी प्रदेशसभा र प्रतिनिधिसभामा अनुकूल हुन्थ्यो। गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दोरहेछ । अरुको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन ।’

गठबन्धनको बलमा बहुमत ल्याउने लक्ष्य कांग्रेसको छ । किनकी यो निर्णयमा देउवा लचक भएपनि इतर समूहले देउवालाई त्यसमा दायाँबायाँ गर्न दिने सम्भावना छैन । स्थानीय तहमा गठबन्धनबाट धोका पाएको आक्रोश माधव नेपालमा छ । प्रचण्ड कसैको बहुमत नआउने गरी सिट बाँडफाँट गर्नुपर्ने पक्षमा छन् । किनकी त्यो भएमा सरकार बनाउने निर्णायक शक्ति माओवादी हुनेमा उनी चनाखो छन् । यदि कांग्रेसले आफ्नो अडान छाडेन भने सिट बाँडफाँटलाई लिएर गठबन्धनमा फुट आउन सक्छ । एमाले अध्यक्ष ओलीले भनेझैं,‘हामीले धेरै हतार गरेर यिनीहरुको यो एकता फोड्नका लागि एकदम चाँदीको तरबार बनाउनुपर्ने केही पनि आवश्यकता छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *