काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटाउन खोज्ने प्रयासमा गम्भीर धक्का लागेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यक्षमता माथि प्रश्न उठाउँदै केही नेताहरुले सकभर लिङ्देनलाई हटाउने नभए पार्टी नै विभाजन गर्नेसम्मको कसरत गरेका थिए ।
यसका लागि पार्टी भित्रकै प्रभावशाली नेताहरुले पटक–पटक गोप्य मिटिङ गर्नुकासाथै विशेष महाधिवेशनको गृहकार्यसमेत अघि बढाएका थिए ।
उनीहरुले भारतको निजी भ्रमणमा रहेका पूर्व अध्यक्ष पशुपतिशम्शेर राणा नेपाल फर्किएपछि वारपार गर्ने तयारी गरेका थिए । यसका लागि दीलनाथ गिरी, दिलविकास राजभण्डारी, केशव श्रेष्ठ, श्याम तिमिल्सिना, तेज भुर्तेल, दमन बस्नेत लगायतका नेताहरु सक्रिय रहेका छन ।
विक्रम पाण्डे र पार्टी महामन्त्री कुन्ती शाहीले पनि उनीहरुलाई प्रोत्साहन गरेको बुझिएको छ । पूर्व अध्यक्ष राणा नेपाल फर्किएपछि भने उनीहरु निराश भएका छन ।
राणाले अध्यक्ष लिङ्देनलाई आफनो पूर्ण समर्थन रहेको र अहिले पार्टी कमजोर हुने गरी कुनै गतिविधि गर्न नहुने बताएपछि उनीहरु पछि हटेका छन ।
राणाले आगामी चुनावमा पार्टी एकढिक्का भएर चुनावमा जानुको विकल्प नभएको भन्दै पार्टीलाई कमजोर पार्ने खालका गतिविधि नगर्न पनि नेता कार्यकर्तालाई अपिल गरेका छन ।