एकल अध्यक्ष बनाउन विधान संशोधन

काठमाडौं । वीरगन्जमा बुधबारदेखि सुरु जनता समाजवादी पार्टी (जसपा) को बैठक बिहीबार रातिसम्म जारी छ। विधान संशोधनदेखि पार्टीको संगठनात्मक संरचनामा राजनीतिक समिति (पोलिटब्युरो) थप्नेसम्मका १४ प्रस्तावमाथि छलफल भइरहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए।

जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा वीरगन्जमा जारी केन्द्रीय समिति बैठकले गर्ने निर्णय ऐतिहासिक महत्वको हुने केन्द्रीय सदस्य फिरोज मन्सुरले दाबी गरे। पार्टीलाई आगामी दिनमा झन् बलियो बनाउन विभिन्न प्रस्तावमाथि छलफल भइरहेको उनले बताए।

उनका अनुसार स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनका लागि संसदीय समिति गठन, निर्वाचनको तयारी, केन्द्रीय कार्यकारिणी समितिको पुनःसंरचना तथा विस्तारजस्ता विषय छलफलमा छन्।

‘अहिले पार्टीको संगठनात्मक संरचनामा पहिलेदेखि नभएको राजनीतिक समिति बनाउने विषय पनि प्रस्तावित छ,’ मन्सुरले नागरिकलाई भने, ‘त्यसैगरी पहिला दुई अध्यक्ष रहने विधानमा भएको व्यवस्था संशोधन गरेर एक मात्र अध्यक्षको व्यवस्था गर्न लागिएको छ।’

बिहीबार रातिसम्म प्रस्तावित विषयको निर्णय आउनेछ। आगामी निर्वाचनमा गठबन्धनका विषयमा निर्णय, विगतमा अन्तरघात गर्नेहरूउपर कारबाही, पार्टीका जनवर्गीय संगठनको सुदृढीकरण तथा परिचालनजस्ता विषयमा यस बैठकले निर्णय लिने उनले जनाए।

पार्टीको विधानविपरीत काठमाडौंमा बेग्लै बैठक आयोजना गरेका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसहित नौ जना उपर कारबाहीको प्रस्ताव पनि जसपाको वीरगन्ज बैठकमा प्रस्तावित छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *