काठमाडौँमा रहेका चिनियाँ नेता लिउले स्कूले विद्यार्थीलाई बाडेँ खाजा

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका प्रमुख लिउ चियन छाओले ‘नेपाल मुस्कान बालबालिका’ परियोजनाको सुरुवात गर्दै काठमाडौँका स्कूले विद्यार्थीलाई खाजा वितरण गरेका छन् ।

काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नेपाली परम्पराअनुसार पानसमा बत्ती बालेर परियाेजनाकाे उद्घाटन गरेपछि प्रमुख लिउले उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री पम्फा भूषालसँगै दिवा खाना वितरण गरेका हुन् ।

चीनकाे विदेशमन्त्रीको हैसियतमा रहेका लिउले साे अवसरमा नेपाल चीनको असल छिमेकी भएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरमा थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे । उनले भने, “महान् मुलुक नेपाल चीनको असल छिमेकी साझेदार हो, हाम्रो जनस्तरको सम्बन्ध अझ प्रगाढ हुँदै गएको छ ।”

बालबालिकाहरू देशको भविष्य भएको उल्लेख गर्दै लिउले भने, “बालबालिका नेपाल–चीन मितेरीका भविष्य हुन् । बालबालिकाको खुसीले दुई देशको सम्बन्धमा नयाँ आयाम थप्न सहयोग गर्छ, सम्बन्धलाई अझ मजबुत बनाउँछ । उहाँहरू नेपाल–चीन सम्बन्धको नयाँ बीउ हो ।” ग्लोबल डेभलपमेन्ट तथा साउथ–साउथ कोपरेशन फण्डमार्फत नेपालको शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने उनले विश्वास दिलाए ।

मन्त्री भुसालले नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने बताइन् । मन्त्री भुसालले भनिन्, “संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वयनका लागि आर्थिक विकास अपरिहार्य छ । त्यसका लागि हामीलाई चीनको सहयोग आवश्यक छ ।” मन्त्री भुसालले नेपालको औद्योगिकीरण एवं आर्थिक विकासमा चीनको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

शताब्दीऔँदेखि नेपाल–चीनबीच जनस्तरको सम्बन्ध प्रगाढ रहँदै आएको उल्लेख गर्दै उनले भनिन्, “दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध शान्ति र सहअस्तित्वका आधारमा अझ प्रगाढ बन्दै गएको छ । यो सम्बन्ध आपसी विश्वास, सहकार्य, सहयोग र सम्मानसहित पञ्चाशीलका आधारमा स्थापित छ ।

”खासगरी चीनको आर्थिक तथा प्राविधिक सहयोगबाट भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जलस्रोत र खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै मन्त्री भुसालले नेपालको शैक्षिक विकास तथा गरिबी निवारणका क्षेत्रमा पनि चीनको सहयोग रहेको बताइन् ।

चीनले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई महत्वपूर्ण अवसर दिँदै आएको उनले स्मरण गरिन् । चीन नेपालको सुखदुःखको साथी रहेको भन्दै मन्त्री भुसालले २०७२ सालमा गएको भूकम्प र कोभिड–१९ महामारीमा चीनले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरिन् ।

परियोजनाको बारेमा जानकारी दिँदै ग्रामीण विकास लागि चिनियाँ कोषको नेपालस्थित कार्यालयकी निर्देशक चौ च्री छियाङले विश्वव्यापी विकास र दक्षिण-दक्षिण सहयोग कोषको सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । उनले  ‘नेपाल मुस्कान बालबालिका’ परियोजना नेपालका ३५ विद्यालयमा लागू गरिने र त्यसबाट पाँच लाख बालबालिका लाभान्वित हुने जानकारी दिइन् ।

सात सदस्यीय प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै आइतबार चार दिवसीय नेपाल भ्रमण सुरू गरेका  लिउले काठमाडाैँ अवतरण गरेलगत्तै  प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । आजै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नेछन् । बुधबार स्वदेश फर्किनुअघि राष्ट्रपित विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने उनकाे कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *