काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिलेकै तरिकाले अधोगतिमा जाने हो भने श्रीलङ्का भन्दा पनि खराब स्थितिमा पुग्न सक्ने चेतावनी दिएका छन् ।
सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले अधोगतिमा ब्रेक नलगाउने हो भने नेपाल श्रीलंका भन्दा उधो खस्ने चेतावनी दिएका हुन् । त्यसका लागि सतर्क हुन जरुरी रहेको उनले बताए ।
उनले भने,‘बजेट निर्माण वा अरू प्रकरणमा पृष्ठ भागबाट गरिएको समर्थन र दिइएको टेको त्यति सहज छैन । त्यसको प्रभाव भनेको हामी कम्तीमा पनि श्रीलङ्का सम्म पुग्ने नै लक्षण हो । त्योभन्दा अघि पनि जान सक्छौँ । यस अधोगतिमा ब्रेक नलगाउने हो भने त्योभन्दा उँधो पनि जान सक्छ । अहिले नै सतर्क हुनुपर्ने छ ।’
अध्यक्ष ओलीले बजेट निर्माणमा व्यापारी तथा अनधिकृत व्यक्तिलाई घुसपैठ गराइएको घटना निकै गम्भीर भएको बताए । उनले यो अर्थमन्त्रीको तहबाट मात्रै सम्भव नभएको भन्दै प्रधानमन्त्रीसम्मको सेटिङ हुन सक्ने बताए ।
उनले हतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘अहिले हतियार खरिदका कुरा आएका छन् । यो विषय सहज छैन । यसको प्रभाव कम्तीमा हामी श्रीलंकाको अवस्थामा पुगिन्छ वा अझ त्यो भन्दा पनि बढीमा पुगिन्छ । अहिले नै हामी सतर्क हुनुपर्छ ।’
अध्यक्ष ओलीले गठबन्धनको यो सरकार निष्प्राण भइसकेकोले अब यसैलाई बोकेर हिडिँरहे समाजमा हैजा फैलाउने टिप्पणी टिप्पणी गरे । उनले गठबन्धन समेत मृत भइसकेको दाबी गरे । उनले भने, ‘यो सरकार बोकेर हिँड्नु हुँदैन । यो सरकार निष्प्राण भइसक्यो अब जति रह्यो त्यति समाजमा हैजा फैलाउँछ।’