काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता शेखर कोइराला पक्षका विद्यार्थीहरुले नाराबाजी गरेका छन् । उनीहरुले सभापति शेरबहादुर देउवाविरुद्व विभिन्न नाराहरु लेखिएका प्ले–कार्डसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले प्रधानमन्त्री देउवाको गाडीलाई कांग्रेस कार्यालय परिसर प्रवेशमा अवरोध पुर्याएपछि केहीबेर तनाव भएको थियो । विद्यार्थीहरुले भ्रातृ संस्थामा एकलौटी नियुक्ति गरेको तथा अध्यक्षमात्रै नियुक्त गरेर अपूरो बनाएको, महाधिवेशन सकिएको छ महिना बितिसक्दा पनि पार्टीका विभागहरु गठन नगरेको तथा विधानबमोजिमका अन्य कामहरु पूरा नगरेको भन्दै विरोध गरेका छन् ।
सभापति देउवाले चैतपछि सोमबार स्थानीय निर्वाचनको परिणाम र चुनावी गठबन्धनबारे छलफल गर्न भन्दै केन्द्रीय कार्य समितिको बैठक बोलाएका छन् । पार्टीमा देउवाको कार्यशैलीबारे विरोध जनाउँदै आएको कोइराला समूहले केन्द्रीय समिति बैठकमा कडारुपमा प्रस्तुत हुने जनाएको छ ।