काठमाडौं । नेकपा एमालेले आगामी संघ र प्रदेशको निर्वाचनमा आफूहरु एक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने निष्कर्ष निकाल्दै तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अन्तर पार्टी निर्देशन जारी गरी एक्लै लड्ने र चुनाव जित्ने मनोबलका साथ लाग्न निर्देशन दिएका हुन् ।
अन्तरपार्टी निर्देशनमा भनिएको छ,‘गठबन्धनवालाहरुले स्थानीय चुनावमा पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्छ । हाम्रो तयारी यस्तो अवस्थामा एक्लै लड्ने र जित्ने हिसाबको हुनुपर्छ हामीसँग सही नीति र कार्यक्रम छन्, त्यसैले एक्लै लड्ने र पराजित गर्ने सामथ्र्य राख्छौं भन्ने आत्मविश्वास जगाउने ।’
एमालेले निर्वाचन क्षेत्रमा जित सुनिश्चित गर्न पार्टी प्रवेशका ठोस कार्यक्रम र योजना बनाउन पनि निर्देशन दिएको छ । एमालेले अघिल्लो निर्वाचनमा ३३ प्रतिशत मत पाएको र यो निर्वाचनमा १ प्रतिशत वृद्धि गर्दै लोकप्रिय मत ३४ प्रतिशत पुर्याएको दाबी गरेको छ ।
अपानिमा भनिएको छ, ‘मत संख्याका हिसाबले अघिल्लो निर्वाचनको तुलनामा ६ लाख १ हजार २५४ र प्रतिशतमा २१. प्रतिशतले जनमत वृद्धि भएको छ । दुवै निर्वाचनमा नेपाली कांग्रेस दोस्रो स्थानमा रहिआएको छ । २०७४ को निर्वाचनमा ३२.९ प्रतिशत मत पाएको कांग्रेसले यस निर्वाचनमा ३३.३ प्रतिशत मत पाएको छ। यो मत अघिल्लो निर्वाचनमा पाएको मतभन्दा ६ लाख १९ हजार १०५ अर्थात् १९.९ प्रतिशतले बढी हो।’