ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद् सम्बन्धी संसदमा दर्ता भएको विधेयक फिर्ता हुने बताएका छन् । सोमबार नेपाली काङ्ग्रेस ललितपुर क्षेत्र नम्बर २ प्रदेश सभा (क) द्वारा आयोजित क्रियाशिल सदस्यको भेला तथा जनप्रतिनिधिको सम्मान कार्यक्रममा महामन्त्री थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक आजभोलि नै फिर्ता हुने बताएका हुन् ।
उनले भने,’संवैधानिक परिषद् सम्बन्धी संसदमा दर्ता भएको विधेयक आजभोलि नै भित्र फिर्ता हुन्छ । यो विधेयकले अहिले प्रचलित संवैधानिक कानुनभन्दा फरक छ । यसबारे हामीले सभापति देउवालाई भेटेर यसबारे जानकारी गराएका छौं ।’
उनले संवैधानिक परिषदमा उपस्थितिको संख्या र निर्णय गर्ने अधिकारको बारेमा संशोधनको प्रस्ताव अघि सारेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद् (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए ।
अहिलेको सरकारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजु्ल्दो अध्यादेशलाई निरन्तरता दिने खालको विधेयक ल्याएपछि चर्को आलोचना हुँदै आएको छ।