शिन्जो आबेको सुरक्षामा कमजोरी रहेको प्रहरीद्वारा स्वीकार

जापानको प्रहरीले पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या प्रकरणमा सुरक्षा कमजोरी भएको स्वीकार गरेको छ । नाराका प्रहरी प्रमुख टोमोआकी ओनिजुकाले सुरक्षा व्यवस्थामा समस्या थियो भन्ने कुरा अस्वीकार गर्न नसिकने बताएका हुन् ।

दक्षिणी शहर नारामा शुक्रबार राजनीतिक सम्बोधन गरिरहेका बेला एकजना बन्दुकधारीले गोली हानेर शिन्जो आबेको हत्या गरेपछि सम्पूर्ण जापान स्तब्ध भएको थियो । माथिल्लो सदनका लागि हुने आइतवारको चुनाव कार्यतालिका अनुसार यथावत् छ ।

आबेको हत्या भएको दुई दिनपछि आज स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदान शुरू भइसकेको छ । आबेको हत्याले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी एलडीपी प्रति समर्थन बढेको हुनसक्ने विश्लेषकहरू बताउँछन्। आबे एलडीपीका प्रभावशाली तथा अग्रणी नेता थिए । तुलनात्मक रूपमा कम शक्तिशाली माथिल्लो सदनको चुनावलाई अधिकांशतः सत्तारुढ दलको जनमत सङ्ग्रहका रूपमा हेर्ने गरिन्छ ।

सन्दिग्ध हत्यारा तेत्सुया यामागामीले निश्चित संस्थाविरुद्ध द्वेष पालेको प्रहरीले बताएको छ । जापानी संचारमाध्यमका अनुसार सन्दिग्ध हत्यारा यामागामीले एउटा धार्मिक संस्थाले आफ्नी आमाको आर्थिक अवस्था ध्वस्त पारेको आरोप लगाउँथे र शिन्जो आबे पनि उक्त धार्मिक संस्थासँग सम्बद्ध भएको ठान्थे ।

प्रहरीका अनुसार ती सन्दिग्धले आबेलाई आफैले घरमा बनाएको बन्दुकबाट गोली हानेको स्वीकार गरेका छन् । यामागामीले प्रहरीलाई आफूले जापानको जलसेनामा तीन वर्ष काम गरेको बताएका छन्। हालैका दिनमा उनी पश्चिम जापानको एउटा कारखानामा काम गर्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *