ट्विटरका अध्यक्षले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागु गराउन टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कमाथि मुद्दा दायर गर्ने बताएका छन् । एउटा ट्वीटमा ब्रेट टेलरले यसअघि मस्कसँग भएको सर्त अनुसार उक्त कारोबार सम्पन्न गर्न ट्विटर प्रतिबद्ध रहेको बताए ।
त्यसअघि मस्कले आफू उक्त सम्झौताबाट पछि हटेको घोषणा गरेका थिए । उनका वकिलहरूले उक्त माइक्रोब्लगिङ् साइटले आफूले दाबी गरेजस्तै कुल प्रयोगकर्ताहरूमध्ये ५ प्रतिशतभन्दा कम स्प्याम रहेको भन्ने प्रमाण दिन अस्वीकार गरेको आरोप लगाएका छन् । उक्त खबर आएपछि ट्विटरको सेयर मूल्य ७ प्रतिशतले घटेको छ ।
खरिदबारेको कानुनी लडाइँ जटिल र लामो हुनसक्ने ठानिएको छ । प्रारम्भिक खरिद् सम्झौतामा त्यसलाई तोड्नुपर्ने अवस्थामा १ अर्ब डलर तिर्नुपर्ने सर्त राखिएको थियो । गएको मे महिनामा मस्कले आफूले ट्विटरमा रहेका नक्कली र स्प्याम खाताबारे विवरण कुरिरहेको भन्दै उक्त सम्झौता ’अस्थायी रूपमा यथास्थिति’मा राखिएको बताएका थिए ।
यूएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनलाई लेखेको पत्रमा मस्कका वकिलहरूले ट्विटर त्यस्तो सूचना दिन विफल भएको वा उसले नचाहेको बताएका छन्।