असंलग्न परराष्ट्र नीतिमा अडिग भएर अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा नरहँदा पनि पार्टीले विभिन्न देश र विभिन्न देशका मित्र पार्टीहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउने दिशामा काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार पार्टीको परराष्ट्र मामिला विभागको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रको हितलाई ध्यानमा राखेर सार्वभौमसत्ता, स्वाधीनता र असंलग्न परराष्ट्र नीतिमा अडिग भएर अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रगाढ बनाउँदै लैजानुपर्ने बताएका हुन् ।

उनले विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा विभागले समय समयमा छलफल आयोजना गरी कूटनीतिक क्षेत्रमा काम गर्ने, चासो राख्ने साथीहरूलाई प्रशिक्षित गर्नुपर्ने बताए ।

उनले भने, ‘विदेश भ्रमणका समयमा पालना गर्नुपर्ने मर्यादाका बारेमा राम्रोसँग जानकारी हुनु आवश्यक छ ।’ बैठकमा परराष्ट्र मामिला विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले विभागको कामका सम्बन्धमा रिपोर्टिङ गरेका थिए ।

बैठकमा हालै चेक गणतन्त्रको राजधानी प्रागमा सम्पन्न ‘इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज’ (आइक्याप) स्थायी कमिटीको बैठकले गरेका निर्णयहरुको बारेमा उनले जानकारी गराउँदै आगामी बर्ष उक्त स्थायी कमिटीको बैठक र एसिया–यूरोप राजनीतिक फोरमको पाँचौ बैठक नेपालमा हुने जानकारी गराएका थिए ।

परराष्ट्र मामिला विभाग प्रमुख भट्टराई प्रागमा भएको उक्त कन्फरेन्सबाट एसिया–यूरोप राजनीतिक फोरमको अध्यक्ष निर्वाचित भएका थिए । विभागको बैठकले बार्षिक कार्ययोजना पारित गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *