श्रीलङ्कामा औषधिको मूल्य चार गुणाले बृद्धि

आर्थिक सङ्कट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधी तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ । सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) ले स्थानीय बजारमा औषधि र मेडिकल उपकरणको मूल्य तीनदेखि चार गुणाले वृद्धि भएको र नागरिकलाई ती उपकरण खरिद गर्न कठिन भएको डेली मिरर पत्रिकाले जनाएको छ ।

जीएमओए सञ्चार समितिका सदस्य डा. प्रसाद कोलाबेजका अनुसार बजारमा केही औषधिहरूको अभाव देखिएपछि औषधधि किन्न अस्पताल पुग्ने नागरिकहरूको भीड देखिन थालेको छ ।

कोलाबेजले भने, “पहिले निजी फार्मेसीबाट औषधि खरिद गर्ने अधिकांश मानिस सरकारी अस्पतालमा पुग्ने गरेका छन् । उनीहरूले अस्पतालमा पुग्न यातायातका साधन नपाएर कठिनाइहरूको पनि सामना गरिरहेका पाइएकोे छ । औषधि दिने अस्पतालहरु सीमित भएको भन्नु पर्ने अवस्था आउनु दुर्भाग्य हो ।”

डलर अभाव र आर्थिक सङ्कटका कारण कतिपय आयातकर्ताले औषधि आयात गर्न पूर्णतया बन्द गरेका कारण मुलुकको चिकित्सा क्षेत्र पनि प्रभावित बनेको हो । विशेष गरी, श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबैभन्दा खराब आर्थिक संकटको सामना गर्दै आएको छ । यसले गर्दा राष्ट्रभरि खाद्य, औषधि, खाना पकाउने ग्याँस र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ ।

विदेशी ऋण चुक्ता गरेपछि यहाँ विदेशी मुद्रा सङ्कट भएको सञ्चारमाध्यमहरूले जनाएको भएपनि सरकारले नै देश टाट पल्टेको घोषणा अप्रिलमा गरेको थियो । श्रीलङ्काको कुल वैदेशिक ऋणमध्ये सन् २०२६ सम्ममा करिब २५ अर्ब अमेरिकी डलर चुक्ता गर्नुपर्ने शर्तको पालना गर्दै देशले यस बर्ष करिब सात अर्ब अमेरिकी डलर वैदेशिक ऋण चुक्ता गरिरहेको छ । आर्थिक संकटले विशेष गरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवाको पहुँचमा असर पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *